
खरसाङ, 06 अप्रेल (हि.स.)। खरसाङ विधानसभा समष्टिको लागि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका उम्मेदवार अमर लामाले आज खरसाङ बजार क्षेत्रमा आफ्नो चुनाउ प्रचार गरेका छन्। खरसाङ टाउन कमिटीको पहल अनि महकुमा क्षेत्रका चुनाउ प्रभारी समीर दीप ब्लोन र खरसाङ नगरपालिका क्षेत्रकी चुनाउ प्रभारी सबिता कार्कीको उपस्थितिमा आज चौथौ दिन खरसाङको वार्ड नम्बर 7 सुबेदार बस्तीबाट चुनाउ प्रसार शुरू गरियो।
यस क्रममा वार्ड नम्बर 7 अनि वार्ड नम्बर 16 मा चुनाउ कार्यलयको पनि उद्घाटन गरिएको छ। लामाले भागोप्रमोका अध्यक्ष अनित थापाको वार्ड नम्बर 17 अनि 18 मा वार्डका मतदाताहरुसँग भेटघाट गरी टर्च लाइटकाे चिन्हमा भोट दिन अपील गरे।
दोस्रो चरणमा वार्ड नम्बर 14, 19 अनि वार्ड नम्बर 20 मा चुनाउ प्रचार गरियो। यसावधि आफ्नो बहुमूल्य भोट क्षेत्रीयता बचाउने पार्टी भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चालाई दिन आग्रह गरिएको भागोप्रमो खरसाङ टाउन कमिटीका मूल सचिव बीरबल पाख्रीनले बताएका छन्।
हिन्दुस्थान समाचार / हनोक