
खरसाङ, 07 अप्रेल (हि.स.)। गोर्खा जन पुस्तकालय खरसाङले डा. मणिकुमार छेत्रीको निधनमा गहिरो शोक प्रकट गर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ। चिकित्सा विज्ञानमा किम्बदन्ती बनिसकेका डा. मणिकुमार छेत्री 106 वर्षको उमेरमा गत 5 अप्रेलको दिन भएको निधनले केवल गोर्खा समाज मात्र नभई भारतीय आयुर्विज्ञान जगत नै स्तब्ध भएको छ।
गोर्खा जनपुस्तकालय खरसाङका मूल सचिव विनोद रसाइलीले एक प्रेस विज्ञप्तिमा भने, 23 मई, 1920 मा दार्जीलिङको टिस्टाभ्याल्ली चियाकमानमा जन्मग्रहण अनि दार्जिलिङबाट आवश्यक शिक्षा हासिल गरी कोलकातामा मेडिकल साइन्सको शिक्षा हासिल गर्ने पद्मश्री डा. मणिकुमार छेत्री समस्त गोर्खाहरूका गौरव थिए।
1974 मा चिकित्सा विज्ञानको क्षेत्रमा पद्मश्रीले सम्मानित हुने उनी प्रथम गोर्खा पनि हुन्। पूर्व मुख्यमन्त्री ज्योति बसुका निजी चिकित्सकको रूपमा सेवा दिइसकेका हृदयरोग विशेज्ञ डा. छेत्री 1976 मा पश्चिम बङ्गाल सरकारको स्वास्थ्य विभागका निर्देशक पदजस्तो गरिमामय पदमा पुग्ने पनि पहिलो गोर्खा हुन्। उनी एक अत्यन्त सम्मानित र विशिष्ट चिकित्सक थिए।
गत वर्ष मई महीनामा मङ्पूको अवधारणा समूहको आयोजनामा उनलाई हिमाली गौरव सम्मानले सम्मानित गरिएको थियो। उनको निधनले मानव जगत र चिकित्सा विज्ञानमा नै अपुरणीय क्षति भएको छ।
हिन्दुस्थान समाचार / हनोक