
खरसाङ, 06 अप्रेल (हि.स.)। खरसाङ विधानसभा समष्टिको लागि मार्क्सवादी कम्युनिष्ट पार्टी (सीपीआईएम) का उम्मेदवार उत्तम शर्माले आफ्नो नामाङ्कन पत्र बुझाए। नामाङ्कन पत्र भर्ने अन्तिम दिन सीपीआईएमको तर्फबाट खरसाङको तीनधारे निवासी उत्तम शर्माले खरसाङ महकुमा शासकलाई नामाङ्कन पत्र बुझाए।
नामाङ्कन पत्र बुझाएपछि खरसाङमा पत्रकार सम्मेलन गरेर उम्मेदवार शर्माले यसपाली विधानसभा चुनाउमा माकपाले बंगालभरि आफ्नो प्रार्थी उठाएको बताए। यसै क्रममा पहाडमा पनि उम्मेदवार उठाएको जानकारी गराउॅंदै खरसाङ विधानसभा समष्टिको लागि आफुले नामाङ्कन बुझाएको बताए। उनले पहाडमा भाजपा र तृणमूल कांग्रेसका समर्थक राजनीतिक दलहरु मात्र रहेको र माकपा उक्त दुई पार्टीको विकल्पको रूपमा खडा भएको बताए।
उनले आइतबार मिरिक क्षेत्रबाट चुनाउ प्रसार शुरु गरेको र चुनाउ प्रचार जारी रहने बताए। उनले सीपीआईएम पहाडको स्थायी समाधान चाहन्छ भन्दै हामी पहाडमा स्वायत्ता शासन चाहन्छौं जुन अधिक शक्तिशाली र राम्रो व्यवस्था होस् भनी बताए।
पत्रकार सम्मेलनमा माकपा दार्जिलिङ जिल्ला सचिव एवं पूर्व सांसद समन पाठक, जिल्ला सचिव मण्डल सदस्य सचिन खाती, खरसाङ क्षेत्रका सचिव चेतन गुरुङ र दिपक सुनुवार पनि उपस्थित रहेका थिए।
हिन्दुस्थान समाचार / हनोक