
गान्तोक, 06 अप्रेल (हि.स.)। राज्य चुनाउ आयोग, सिक्किमले आठ शहरी स्थानीय निकायहरूमा प्रस्तावित चुनाउ निर्विरोध घोषणा गरेको छ। नौ मध्ये केवल एक शहरी स्थानीय निकाय गान्तोक नगर निगमको एउटा वार्डमा चुनाउ हुने भएको छ।
राज्य चुनाउ आयोग, सिक्किमका सचिवले सोमवार एउटा परिपत्र जारी गरेर राज्यमा नौ शहरी स्थानीय निकाय मध्ये आठमा चुनाउ निर्विरोध घोषणा गरेकी छन्। यी निकायहरूमा नाम्ची जिल्लाका नाम्ची नगर परिषद र नयॉं बजार जोरथाङ नगर पञ्चायत, पाकिम जिल्लाका पाकिम नगर पञ्चायत र रम्फू नगर पञ्चायत, सोरेङ जिल्लाको सोरेङ नगर पञ्चायत तथा गेजिङ जिल्लाको गेजिङ नगर नगर पञ्चायत सामेल छन्।
यस अतिरिक्त, गान्तोक जिल्लाको सिङताम नगर पञ्चायतमा चुनाउ निर्विरोध भएको छ भने गान्तोक नगर निगम (जीएमसी) को वार्ड नम्बर 10 डिजल पावर हाउसमा चुनाउ हुने भएको छ। जीएमसीका अन्य सबै वार्डहरूमा चुनाउ निर्विरोध सम्पन्न भएका छन्। डीपीएचमा भाजपाकी उम्मेदवार सृजना छेत्री र स्वतन्त्र उम्मेदवार विन्द्या सिञ्चुरीबीच चुनावी भिडन्त भइरहेको छ। यस वार्डबाट सत्तारुढ़ एसकेएम पार्टीको उम्मेदवार अभिषेक शर्माले भाजपा उम्मेदवारको पक्षमा आफ्नो नामाङ्कन फिर्ता लिएका थिए।
राज्य चुनाउ आयोगकी सचिवले निर्विरोध चुनाउ सम्पन्न भएका आठ शहरी स्थानीय निकायहरूमा तत्काल प्रभावका साथ चुनाउ आचार संहिता हटाइएको घोषणा गरेकी छन्। यद्यपि, डीजल पावर हाउसमा चुनाउ भइरहेकाले जीएमसी क्षेत्रमा भने चुनाउ आचार संहिता लागू रहने पनि उनले परिपत्रमा उल्लेख गरेकी छन्।
उल्लेखनीय छ, आम नगर पालिका चुनाउ 2026 जीएमसीको वार्ड नम्बर 10 डिजल पावर हाउसमा आगामी 24 अप्रेलका दिन मतदान हुनेछ भने 25 अप्रेल, 2026 का दिन मतगणना हुनेछ।
हिन्दुस्थान समाचार / बिशाल