
गान्तोक, 06 अप्रेल (हि.स.)। याङगाङमा स्वच्छता ग्रीन लिफ रेटिङ (एसजीएलआर) प्रणाली सम्बन्धी एक जागरूकता कार्यक्रम आयोजन गरियो। कार्यक्रमको आयोजना याङगाङ एसडीएमले खण्ड प्रशासनिक केन्द्र, याङगाङ र याङगाङ पर्यटन विकास समितिको सहकार्यमा गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ।
कार्यक्रम आयोजन गर्नुको मुख्य उद्देश्य यस क्षेत्रका होटल, होमस्टे र रेस्टुरेन्टहरूमा स्वच्छता, सरसर्फाइ र दिगो अभ्यासहरूलाई प्रवर्द्धन गर्नु रहेको थियो। सहभागीहरूलाई प्रभावकारी फोहोर व्यवस्थापन, प्लास्टिकको प्रयोगमा कमी र उचित ग्रे वाटर प्रबन्धनसहित एसजीएलआर प्राप्त गर्न आवश्यक पर्ने प्रमुख पक्षहरूबारे जानकारी गराइयो। सेवा प्रदायकहरूले यी पर्यावरण-मैत्री अभ्यासहरू कति हदसम्म अपनाउँछन् र लागू गर्छन् भन्ने आधारमा एसजीएलआर प्रमाणीकरण प्रदान गरिने बताइएको छ।
कार्यक्रमको दोस्रो भागमा मिलन शर्माले सिंगापुरबाट सफल होमस्टे मालिक बनेको आफ्नो प्रेरणादायी यात्रा साझा गरेका थिए। उनले यस क्षेत्रमा आतिथ्य सेवाहरू सुधार गर्ने र बलियो पर्यटन पोर्टफोलियो निर्माण गर्ने बारेमा बहुमूल्य सुझाउहरू पनि दिए।
क्षेत्र विधायक तथा सिक्किम विधानसभाकी उपाध्यक्ष राजकुमारी थापाले आफ्नो सम्बोधनमा युवाहरूलाई जिम्मेवारी लिन र याङगाङलाई एक अग्रणी पर्यटन केन्द्रको रूपमा विकास गर्न सक्रिय रूपमा भाग लिन प्रोत्साहित गरिन्। उनले मिलन शर्मा र मन्दीप प्रधान जस्ता पर्यटन उद्यमीहरूलाई यस क्षेत्रमा पर्यटन प्रवर्द्धनमा अनुकरणीय योगदान पुर्याएकोमा प्रशंसा गरिन्। उनले स्थानीय समुदाय र जीविकोपार्जनको लागि पर्यटनको व्यापक सम्भावनाहरूमा जोड दिएकी थिइन्।
कार्यक्रमलाई खाद्य प्रशोधन विभागका सल्लाहकार सीएल गुरुङ र मुख्यमन्त्रीका ओएसडी कर्मा सुब्बाले पनि सम्बोधन गरेका थिए। कार्यक्रममा एक अन्तरक्रियात्मक प्रश्नोत्तर सत्र पनि आयोजना गरिएको थियो, जहाँ सहभागीहरूले सक्रिय रूपमा भाग लिॅंदै आफ्ना प्रश्नहरू गरेका थिए।
हिन्दुस्थान समाचार / बिशाल