
म जितेर गएपछि अव्यवस्थित अस्पताललाई सुव्यवस्थित बनाउन काम गर्नेछु: बन्दना राई
खरसाङ, 07 अप्रेल (हि.स.)। खरसाङ विधानसभा समष्टिको लागि इण्डियन गोर्खा जनशक्ति फ्रण्ट (आईजीजेएफ) की उम्मेदवार बन्दना राईले आज बिहान आफ्नो चुनाउ प्रचारको क्रममा खरसाङ महकुमा अस्पतालको भ्रमण गरिन्। उनीसित पार्टीको खरसाङ क्षेत्रका पदाधिकारीहरु र कार्यकर्ताहरु उपस्थित थिए।
बन्दना राईले खरसाङ महकुमा अस्पतालका विभिन्न समस्याहरु र असुविधाहरूको बारेमा जानकारी लिइन्। उनले अस्पतालमा ओपीडी सेवा लगायत विशेषज्ञ डाक्टरहरु, आवश्यक मशीनहरु, अस्थायी कर्मचारीहरुको स्थायी नियुक्ति जस्ता समस्याहरूको बारेमा जानकारी लिइन्।
पछि, पत्रकारहरुसित कुराकानी गर्दै उनले खरसाङ महकुमा अस्पतालको पुरानो समस्या अहिले पनि यथावत् रहेको बताइन्। उनले भनिन्, 'अस्पतालमा चाहिने मशीनहरु छैन, वर्तमान टेक्नोलोजी छैन, यहाँ विशेषज्ञ डाक्टरहरु छैनन्, यहाँ अस्थायी कर्मचारीहरु धेरै छन्, जो लामो समयदेखि स्थायीकरणको प्रतीक्षामा छैन्। हामी खरसाङकै स्थायी वासिन्दा हौँ, अस्पतालमा व्यवस्थित छैन। यस समस्याको समाधान किन हुँदैन? किन विकसित भएको छैन? ओपीडी ढंगको छैन, टाइम म्यानेजमेन्ट छैन।
एक प्रश्नको उत्तरमा बन्दना राईले आफु विधानसभामा विधायक भएर गएको खण्डमा खरसाङ महकुमा अस्पताललाई सुव्यवस्थित बनाउन काम गर्ने, अस्पताललाई विकसित गराउन काम गर्ने, अस्पताललाई जनताका लागि सुविधासम्पन्न बनाउन काम गर्ने योजना रहेको बताइन्। उनले भनिन्, खरसाङ अस्पतालका अस्थायी कर्मचारीहरु विगत 26 वर्षदेखि स्थायी भएका छैनन्। म जितेर गएको खण्डमा खरसाङ महकुमा अस्पताललाई सुव्यवस्थित बनाउने योजना छ। म नियमित रूपमा अस्पतालको निरीक्षण गर्नेछु। किनभने यो महकुमा अस्पताल हाम्रो सम्पत्ति हो। मेरो मुद्दा पनि स्वास्थ्य, धन र शिक्षा हो। स्वास्थ्य छ भने धन पनि हुन्छ र समाज शिक्षित हुन्छ।'
बन्दना राईले अझ भनिन्, 'हामीले विधायकलाई केवल भात खानु मात्र जिताएर पठाएको होइनौं। विधायक बनाएको केवल रेस्ट गर्नु र निजी सम्पत्ति बढाउनु मात्र होइन। एक विधायकको काम केवल पोलिथिन बाँड्नु र फोटो खिँच्नु मात्र होइन।'
---------------
हिन्दुस्थान समाचार / हनोक