
खरसाङ, 07 अप्रेल (हि.स.)। बौद्ध धर्म गुरु पेम्बा रिम्पोर्छेले चुनाउमा कुनै पार्टी नहेरेर जो मान्छे सही छन् र जो असल छन्, उसैलाई भोट दिएर जिताउनु आवश्यक रहेको बताएका छन्। उनले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका उम्मेदवार अमर लामालाई जिताउन आह्वान् गरेका छन्।
खरसाङमा आज पत्रकारहरुलाई सम्बोधन गर्दै उनले भागोप्रमो उम्मेदवार अमर लामालाई समर्थन गर्नुका कारणहरूबारे भने, अनित थापामा सत्यता रहेछ। अनित थापालाई गोर्खाल्याण्ड बेच्यो भनेर आरोप लगाउँछन्, तर गोर्खाल्याण्ड पाएको भए पो बेच्नु। अनित थापा नै हुन् वास्तवमा क्षेत्रीयता बचाउने नेता।' उनले अघि भने, अमर लामालाई बाहिरको भनेर आरोप लगाइएयो, तर सबैले इतिहास पढ्नु आवश्यक हुन्छ। 2009 मा जसवन्त सिंह, 2014 मा एसएस आहलुवालिया र 2019 देखि राजु विष्ट, उनीहरू सबै कताका हुन्? अमर लामा त हाम्रो आफ्नै दार्जिलिङका हुन्। उनी खरसाङमा आएर काम गरिरहेका छन्।
उनले आफु धर्म गुरु भएर पनि राजनीति गरेको विषयमा बोल्दै भने, जनताको सेवा गर्ने उत्तम ठाउँ हो राजनीति। राजनीतिमार्फत् जनताको सेवा गर्ने असवर मिल्छ। राजनीतिको माध्यमद्वारा म गोर्खाहरुको हितमा बोल्छु। एक प्रश्नको उत्तरमा उनले भने, म पहिला भाजपामा बसेर हेरे अनि चुनाउमा जिताउन धेरै काम गरे। तर भाजपाले गोर्खाहरूको लागि केही गरेन, गोर्खाहरूको लागि सिन्का पनि भाँचेन। त्यसरी नै गोर्खाहरुको अभिभावक भनेर बिमल गुरुङलाई सघाए। तर गोर्खा भाषाको कुरा गर्दा पार्टीबाट निकाल्यो भन्यो, तर म आफै पार्टीबाट निस्किए। त्यसपछि मैले अजय एडवर्ड्सलाई केवल भेटेको मात्र हो, सामेल भएको होइन। मैले पहिलो दैलो नै झूटो भेटे। इण्डियन गोर्खा जनशक्ति फ्रण्ट निजी पार्टी रहेछ र यसको पञ्जीकरण पनि भएको छैन भन्ने बुझे।'
पेम्बा रिम्पोर्छेले भने, सांसद राजु विष्टले एसआईआरमा एकजनाको नाम पनि डिलिट भयो भने राजिनामा दिन्छु भनेका थियो, तर खोई? यहाँ धेरैको नाम काटिएको छ, तर भाजपाले केही सहयोग गरेको छैन। त्यसैले यसपालीको विधानसभा चुनाउमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको उम्मेदवार अमर लामालाई भोट दिएर जिताउन आह्वान् गर्दछु।'
---------------
हिन्दुस्थान समाचार / हनोक