मानसिक स्वास्थ्य प्रवर्द्धनको लागि संवेदनशील र जिम्मेवार रिपोर्टिङमा दुई दिवसीय कार्यशाला
मानसिक स्वास्थ्य प्रवर्द्धनको लागि संवेदनशील र जिम्मेवार रिपोर्टिङमा दुई दिवसीय कार्यशाला


- मिडियामार्फत प्रसारित जानकारीले जनमतलाई आकार दिन र मानसिकतालाई प्रभाव पार्न महत्त्वपूर्ण भूमिका खेल्छ: राजकुमारी थापा

गान्तोक, 07 अप्रेल (हि.स.)। मिडिया कर्मीहरूका लागि 'माइन्डफुल मिडिया: कभरिङ क्राइसिस् विद् केयर एण्ड कम्प्याशन' विषयमा दुई दिवसीय कार्यशाला आयोजना गरिएको छ। मानसिक स्वास्थ्य प्रवर्द्धनको लागि संवेदनशील र जिम्मेवार रिपोर्टिङमा केन्द्रित यस कार्यशालाको आयोजना प्रेस क्लब अफ् सिक्किम र सिक्किम इन्स्पायर्सले संयुक्त रूपमा गरिरहेको छ।

राजधानीको एक स्थानीय होटलमा शुरु भएको कार्यशालाको उद्घाटन सत्रमा सिक्किम विधानसभाकी उपाध्यक्ष राजकुमारी थापा मुख्य अतिथि थिइन्। यसरी नै आईपीआर विभागका अध्यक्ष असित राई, एसटीडीसीका अध्यक्ष लुकेन्द्र रसाइली, आईपीआर विभागकी सचिव अन्नपूर्ण आले, मुख्यमन्त्रीका प्रेस सचिव युगेन तामाङ, सिक्किम इन्स्पायर्सकी कार्यक्रम निर्देशक रोहिनी प्रधान, प्रेस क्लब अफ् सिक्किममा महासचिव डीआर दुलाल लगायत अन्यहरू पनि उपस्थित थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि विधानसभा उपाध्यक्ष थापाले मानसिक स्वास्थ्यका बारेमा चेतना तल्लो तहमा शुरु हुनुपर्छ, जसले समुदायहरूलाई त्यस्ता मुद्दाहरूलाई राम्रोसँग बुझ्न र प्रतिक्रिया दिन सक्षम बनाउँछ भनी बताइन्। लोकतन्त्रको चौथो स्तम्भ र समाजको दर्पणका रूपमा मिडियाको महत्त्वपूर्ण भूमिकालाई प्रकाश पार्दै उनले मिडियामार्फत प्रसारित जानकारीले जनमतलाई आकार दिन र मानसिकतालाई प्रभाव पार्न महत्त्वपूर्ण भूमिका खेल्ने बताइन्।

जिम्मेवार र सकारात्मक रिपोर्टिङले मानसिक स्वास्थ्यसँग सम्बन्धित सामाजिक कलंक कम गर्नमा उल्लेखनीय रूपमा मद्दत गर्न सक्छ भन्दै उनले शब्दहरूको छनौट र सामग्रीको प्रकृतिले गहिरो परिणामहरू निम्त्याउँछ, जसलाई प्रायः बेवास्ता गरिन्छ भनी बताइन्। संवेदनशीलता र आशयको स्पष्टताको आवश्यकतामा जोड दिँदै उनले मिडिया कर्मीहरूलाई जिम्मेवारी र करुणाका साथ त्यस्ता मुद्दाहरूलाई सम्बोधित गर्न आग्रह गरिन्। उनले मानसिक स्वास्थ्यलाई प्राथमिकता दिएको र राज्यमा त्यस्ता पहलहरूलाई समर्थन गरेकोमा मुख्यमन्त्री प्रेमसिंह तामाङप्रति कृतज्ञता व्यक्त गरिन्।

एसटीडीसीका अध्यक्ष लुकेन्द्र रसाइलीले मानसिक स्वास्थ्य लैङ्गिक पक्षपातपूर्ण नभएको र यसले समाजका सबै वर्गलाई असर गर्ने बताए। मिडियालाई 'समाजको संरक्षक' भनेर उल्लेख गर्दै उनले विशेष गरी एआई-उत्पन्न र अप्रमाणित सामग्रीको युगमा टीआरपीको पछि लाग्ने बढ्दो प्रवृत्ति विरुद्ध सचेत गराए।

आईपीआर विभागकी सचिव अन्नपूर्णा आलेले संकट रिपोर्टिङ, विशेष गरी मानसिक स्वास्थ्य र आत्महत्याको बारेमा, व्यावसायिक इमानदारी र मानवीय संवेदनशीलता दुवै आवश्यक रहेको बताइन्। उनले मिडियाको महत्त्वपूर्ण भूमिकामाथि जोड दिॅंदै पत्रकारहरूलाई जिम्मेवार, गैर-सनसनीपूर्ण र साहनुभूतिपूर्ण रिपोर्टिङ अभ्यासहरू अपनाउन आग्रह गरिन्।

मुख्यमन्त्रीका प्रेस सचिव युगेन तामाङले सिक्किममा मानसिक स्वास्थ्यलाई प्राथमिकता दिएकोमा मुख्यमन्त्री प्रेमसिंह तामाङको नेतृत्वको सराहना गर्दै मिडियालाई जागरूकता बढाउन तथा मानसिक स्वास्थ्य र आत्महत्याको बारेमा संवेदनशील रिपोर्टिङ सुनिश्चित गर्न जिम्मेवार र साहनुभूतिपूर्ण भूमिका खेल्न आह्वान गरे।

सिक्किम इन्स्पायर्सकी परियोजना निर्देशक रोहिणी प्रधानले सिक्किम एकीकृत मानसिक स्वास्थ्य र आत्महत्या रोकथाम रणनीति २०२५-३० माथि प्रकाश पारिन्। यसपछि, वरिष्ठ स्वतन्त्र पत्रकार तथा मिडिया एकेडेमिक डा. स्नेहाशिष सुरले प्राविधिक सत्र सञ्चालन गरेका थिए, जुन आत्महत्या र मानसिक स्वास्थ्य समस्याहरूको जिम्मेवार र साहनुभूतिपूर्ण रिपोर्टिङमा केन्द्रित थियो।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande