राज्यपाल ओमप्रकाश माथुर तीन दिवसीय गेजिङ भ्रमणमा
राज्यपाल ओमप्रकाश माथुर


गान्तोक, 20 मई (हि.स.)। सिक्किमका राज्यपाल ओमप्रकाश माथुर तीन दिवसीय गेजिङ भ्रमणमा रहेका छन्। उनी २० मईदेखि २२ मई, २०२६ सम्म गेजिङ जिल्लाको भ्रमणमा रहनेछन्। यस भ्रमणको उद्देश्य स्थानीय जनजीवनलाई नजिकबाट बुझ्नु तथा नागरिकहरूसँग संवाद गर्नु रहेको लोकभवनले आज प्रेस विज्ञप्तिमा बताएको छ।

भ्रमणको पहिलो दिन आज राज्यपालले कस्तुरबा गान्धी बालिका विद्यालय, लबिङ, गेरेथाङ पुगे। विद्यालय परिसरमा छात्राहरूले उनलाई हार्दिक स्वागत गरे। राज्यपालले छात्रा, शिक्षक तथा शिक्षा विभागका अधिकारीहरूसँग संवाद गरे।

संवादका क्रममा छात्रा तथा शिक्षकहरूले आफ्ना विभिन्न समस्या र चुनौतीहरू राखे, जसमा विशेष रूपमा खेल मैदानको अभाव तथा एम्बुलेन्स सेवाको आवश्यकता उल्लेख गरिएको थियो। राज्यपालले यी विषयहरू ध्यानपूर्वक सुन्दै प्राथमिकताका साथ समाधानका लागि पहल गरिने आश्वासन दिए। विशेष रूपमा राज्यपालले छात्रावासको व्यवस्था, अध्ययन-अध्यापन लगायतका विषयमा जानकारी लिँदै छात्राहरूसँगै भोजन गरे र उनीहरूको दैनिक जीवनको अनुभव साझा गरे।

यस अवसरमा लोकसभा सांसद इन्द्रहाङ सुब्बा तथा क्षेत्र विधायक एवं पर्यटन तथा नागरिक उड्डयन विभागका मन्त्री टीटी भोटिया पनि उपस्थित थिए।

क्षेत्र विधायकले विद्यालयसँग सम्बन्धित विभिन्न चुनौतीबारे राज्यपाललाई जानकारी गराए। साथै सांसदले पेलिङ हुँदै योकसम-टाशीडिङ-लेगसेप सडकलाई राष्ट्रिय राजमार्ग बनाउने पहल राज्य सरकारले अघि बढाएको जानकारी गराए। यस विषयमा राज्यपालले आवश्यक समर्थन गर्ने आश्वासन दिए।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande