
खरसाङ, 23 मई (हि.स.)। भारतीय जनता पार्टी (भाजपा) खरसाङको सभा आज स्प्रिङ साइड चियाबारीस्थित सार्वजनिक भवनमा सम्पन्न भयो। उक्त सभा भाजपा खरसाङ गिद्ध पहाड मण्डल सभापति एवं पञ्चायत सदस्या दिक्षा तामाङको सक्रियतामा गरिएको थियो। सभाको अध्यक्षता भाजपा दार्जिलिङ जिल्ला उपाध्यक्ष आरबी लामाले गरेका थिए।
सभामा भाजपाको भातृ संगठनहरुले भाजपाको छातामुनि सक्रिय रूपमा संगठनलाई अघि बढाउने साथै सबैले भाजपा पार्टीलाई सांगठनिक रुपमा सक्रिय बनाएर अघि लैजाने बताए। खरसाङ गिद्द पहाड समष्टिका मण्डल सभापति एवं पञ्चायत समिति सदस्या दिक्षा तामाङले भाजपा सरकारका विभिन्न योजनाहरुको बारेमा जानकारी गराइन्। उनले आगामी सांगठनिक गतिविधि र रणनीति विषयमा चर्चा परिचर्चा गरेकी थिइन्।
सभालाई ट्रेड युनियनका प्रणय तामाङ, कानुनी सल्लाहकार एवं दार्जिलिङ जिल्ला सदस्य अधिवक्ता रमेश अग्रवाल, बुथ सभापति राजकुमार, महिला संगठनकी सभापति दिपिका प्रधान आदिले पनि सम्बोधन गरेका थिए।
हिन्दुस्थान समाचार / हनोक