सोनादामा कवि केवलचन्द्र लामासँग कविसन्धि एवं साहित्य मञ्च कार्यक्रम सम्पन्न
सोनादामा कवि केवलचन्द्र लामासँग कविसन्धि एंव साहित्य मञ्च कार्यक्रम सम्पन्न


सोनादा, 23 मई (हि.स.)। साहित्य अकादेमी, नयाँ दिल्ली अनि सोनादा डिग्री कलेजको संयुक्त तत्वावधानमा आज कविसन्धि एवम् साहित्य मञ्च कार्यक्रम सम्पन्न भएको छ। उक्त कविसन्धिमा दार्जिलिङका चर्चित कवि केवलचन्द्र लामाको एकल कविता कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रमको अध्यक्षता वरिष्ठ साहित्यकार डा. जीवन नामदुङले गरेका थिए भने केवलचन्द्र लामा प्रमुख अतिथिको रुपमा उपस्थित थिए।

कार्यक्रममा अतिथि कविका रूपमा कवि प्रणय शंकर र कवयित्री द्वारिका छेत्री तथा विशिष्ट अतिथिहरूमा साहित्य अकादमी नयाँ दिल्ली नेपाली भाषा परामर्श समितिका सदस्य सुवास सोताङ र आशा मुखिया लामा, सोनादा डिग्री कलेजका प्राचार्य डा योगेस खाती, प्राध्यापिका डा रागिनी थापा, मुण्डाकोठी हाई स्कूलका वर्तमान प्रधानाध्यापिका सुधा राई आदि उपस्थित थिए।

कार्यक्रममा स्वागत वक्तव्य नेपाली परामर्श समिति, साहित्य अकादमी नयाँ दिल्लीका सदस्य सुवास सोताङले राखेका थिए। कार्यक्रममा सोनादा डिग्री कलेजका विद्यार्थीहरुले केवलचन्द्र लामाद्वारा लिखित गीत 'मेरो हाल नसोध' प्रस्तुत गरिएको थियो। कवि सन्धि कार्यक्रम अन्तर्गत कवि केवलचन्द्र लामाद्वारा आफ्नो एकल कविता वाचन साथै मन्तव्य पनि राखे। कार्यक्रममा आयोजक समितिको तर्फबाट कवि केवलचन्द्र लामालाई सम्मान पनि जनाइयो।

कार्यक्रममा सोनादा डिग्री कलेजबाट तयार गरिएको पुस्तक 'पर्पेक्टिभस्' को लोकार्पण गरियो। वरिष्ठ साहित्यकार डा. जीवन नामदुङको अध्यक्षतामा सम्पन्न साहित्य मञ्च कार्यक्रममा कवि प्रणय शङ्करले कविता वाचन गरेका थिए भने साहित्यकार प्रा. मेघनाथ छेत्री र साहित्यकार एवं प्राध्यापक अनिलकुमार विश्वकर्माले वार्ता प्रस्तुत गरे।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande