
तीनधारे, 23 मई (हि.स.)। तीनधारे महानदी समष्टि अन्तर्गत जंगपाना चियाबारी पुग्ने पुलको एक साइड पैह्रोको चपेटमा परेको छ। महानदी र घुम्ती चियाबारी हुँदै जंगपाना जाने पुलमा भेल पसेर पुलको एकपट्टिको भाग क्षतिग्रस्त बनाएको र यसलाई समयमा नै मरमत्ति नगरिए पूललाई खतरा हुनसक्ने र जंगपाना चियाबारी क्षेत्रलाई धेरै असुविधा हुने स्थानीयहरुले बताएका छन्।
विशेष गरेर जंगपाना चियाबारीबाट घुम्ती महानदीतिर आउँदा पुलको दाहिनेतिरको भागमा पानीको भेल पसेर पुल क्षतिग्रस्त भएको छ। यो पुलको झट्टै मरमत्ति गरिनु पर्ने देखिएको छ। समयमा नै पुल मरमत्ति नगरिए जंगापानाबाट महानदी, खरसाङ जान असुविधा हुने देखिएको छ।
यातायात अवरुद्ध भए विशेष गरेर विद्यार्थीहरु, बिमारीहरु, स्थानीयहरुलाई धेरै असुविधा हुनेछ। यो पुलले जंगपानालाई घुम्ती, महानदी र खरसाङलाई जोड्ने गरेको छ। यदि यो पुल क्षतिग्रस्त भए जंगपाना क्षेत्र कालापानीमा परिणत हुनसक्छ। जंगपानाका स्थानीयहरुले यो भत्केको पूल झट्टै मरमत्ति गरिदिन अनुरोध गरेका छन्।
हिन्दुस्थान समाचार / हनोक