पाकिममा एसआईआर सम्बन्धी सचेतना बैठक सम्पन्न
पाकिममा एसआईआर सम्बन्धी सचेतना बैठक सम्पन्न


पाकिम, 20 मई (हि.स.)। पाकिम जिल्लाकी जिल्ला निर्वाचन अधिकारी एवं जिल्लापाल परी बिश्नोईले आज पाकिमको डीडीएमए कन्ट्रोल हलमा राजनीतिक दलका प्रतिनिधि तथा बुथ स्तरीय एजेन्टहरू (बीएलए) सँग मतदाता नामावलीको विशेष गहन पुनरीक्षण (एसआईआर) तेस्रो चरण सम्बन्धी सचेतना बैठक आयोजना गरिन्। आगामी एसआईआर प्रक्रियाअन्तर्गत समयसीमा, कार्यविधि तथा विभिन्न गतिविधिबारे राजनीतिक दलका प्रतिनिधि तथा बीएलएहरूलाई जानकारी गराउने उद्देश्यले बैठक आयोजना गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला निर्वाचन अधिकारीले एसआईआरको उद्देश्य योग्य मतदाताको नाम समावेश गर्नु, मृत मतदाताको नाम हटाउनु, दोहोरो नाम सच्याउनु, त्रुटिपूर्ण विवरण सुधार गर्नु तथा स्थान परिवर्तन गरेका वा अनुपस्थित मतदाताको प्रमाणीकरणमार्फत मतदाता नामावलीलाई शुद्ध र अद्यावधिक बनाउनु रहेको बताइन्। उनले स्वच्छ तथा अद्यावधिक मतदाता नामावलीले निर्वाचन प्रक्रियालाई अझ सुदृढ़ बनाउने उल्लेख गरिन्।

उनले प्रस्तुतीकरणमार्फत एसआईआर प्रक्रियाको आवश्यकता, मुख्य विशेषता तथा कार्यविधिबारे जानकारी दिइन्। उनले पुनरीक्षण अभियानअन्तर्गत गणना चरण सञ्चालन हुने‌ बताइन्, जसमा बुथ स्तरीय अधिकारीहरू (बीएलओ) ले घरदैलो भ्रमण गरी गणना फारम वितरण तथा सङ्कलन गर्नेछन्। उनले पूर्व-भरिएका गणना फारम तथा प्रारम्भिक मतदाता नामावली तयार गर्ने प्रक्रियाबारे पनि जानकारी दिइन्।

जिल्ला निर्वाचन अधिकारीले जिल्लाका प्रत्येक मतदान केन्द्रका लागि एक-एक जना बुथ स्तरीय एजेन्ट नियुक्त गर्न सबै राजनीतिक दललाई आग्रह गरिन्, ताकि एसआईआर प्रक्रिया सहज र प्रभावकारी रूपमा सञ्चालन गर्न सकियोस्। ईसीआईद्वारा जारी निर्देशनको उल्लेख गर्दै उनले बीएलएहरूले कुनै अन्योलता नहोस् तथा सही जानकारी प्रवाह होस् भन्ने उद्देश्यले मुख्य निर्वाचन अधिकारी, जिल्ला निर्वाचन अधिकारी वा निर्वाचन दर्ता अधिकारीसँग प्रत्यक्ष समन्वय गर्न सक्ने बताइन्।

बैठकमा सहभागीहरूले राखेका जिज्ञासाहरूको समाधानका लागि जिल्ला स्तरीय मास्टर प्रशिक्षकद्वारा अन्तरक्रियात्मक सत्र पनि सम्पन्न गरिएको थियो।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande