सरकारी फेयर प्राइस पसलहरूलाई नयाँ इलेक्ट्रोनिक पोइन्ट अफ सेल उपकरण र तौल मेसिन वितरण
इलेक्ट्रोनिक पोइन्ट अफ सेल उपकरण र तौल मेसिन वितरण


सोरेङ, 20 मई (हि.स.)। खाद्य एवम् नागरिक आपूर्ति विभाग, सोरेङ जिल्लाले २० मईका दिन कलुक फूड गोडाउनमा कलुक फूड गोडाउन र ताकुथाङ फूड गोडाउनअन्तर्गतका सरकारी फेयर प्राइस पसलहरूलाई नयाँ इलेक्ट्रोनिक पोइन्ट अफ सेल उपकरण तथा तौल मेसिन वितरण कार्यक्रम आयोजन गर्यो। उक्त कार्यक्रमको नेतृत्व जिल्ला खाद्य तथा नागरिक आपूर्ति अधिकारी, सोरेङ जिल्ला जसमान सुब्बाले गरेको थियो।

कार्यक्रममा कलुक फूड गोडाउनका निरीक्षक चाङ्खा मान सुब्बा, ताकुथाङ फूड गोडाउनकी निरीक्षक सुनिता गुरुङ, निरीक्षक रत्न बहादुर सुब्बा, राज्य प्राविधिक सन्तमान सुब्बा, प्राविधिक बिकाश सुब्बा लगायत दुवै फूड गोडाउनअन्तर्गतका सम्पूर्ण एफपीएस सञ्चालकहरूको उपस्थिति रहेको थियो।

सभालाई सम्बोधन गर्दै जिल्ला खाद्य तथा नागरिक आपूर्ति अधिकारी जसमान सुब्बाले नवप्रवर्तन गरिएको ईपीओएस उपकरणले वितरण प्रणालीमा पारदर्शिता, जवाफदेहिता तथा कार्यक्षमता सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले यो उपकरण तथा तौल मेसिनको सही प्रयोग र सञ्चालन सम्बन्धी आवश्यक प्रशिक्षण तथा निर्देशनसमेत प्रदान गरे।

कार्यक्रमका क्रममा राज्य प्राविधिक सन्तमान सुब्बाले ईपीओएस मेसिनको प्रत्यक्ष प्रदर्शन गर्दै यसको सञ्चालन प्रक्रिया तथा प्राविधिक विशेषताबारे एफपीएस डिलरहरूलाई जानकारी गराए। यस पहलले सोरेङ जिल्लाभर सार्वजनिक वितरण प्रणालीमा डिजिटल सेवा प्रवाहलाई अझ सुदृढ़ बनाउनुका साथै पारदर्शिता अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।

उक्त वितरण कार्यक्रम जिल्लाका विभिन्न स्थानहरूमा तीन दिनसम्म सञ्चालन गरिने बताइएको छ। कलुकमा सम्पन्न कार्यक्रमपछि यसको अर्को चरण भोलि सोरेङमा आयोजना गरिनेछ भने अन्तिम चरण सोम्बारियामा सम्पन्न हुनेछ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande