राज्यपालले गेजिङ जिल्लामा ऐतिहासिक सम्पदा, प्रगतिशील कृषि तथा पर्यावरण संरक्षणसँग सम्बन्धित स्थानहरूको अवलोकन गरे
Governor visit to gezing


गान्तोक, 21 मई (हि.स.)। सिक्किमका राज्यपाल ओमप्रकाश माथुरले गेजिङ जिल्लाको आफ्नो तीनदिने औपचारिक भ्रमणको दोस्रो दिन आज क्षेत्रको ऐतिहासिक सम्पदा, प्रगतिशील कृषि तथा पर्यावरण संरक्षणसँग सम्बन्धित विभिन्न स्थानहरूको विस्तृत अवलोकन गरे।

आफ्नो भ्रमणको शुरुआत राज्यपालले सिक्किमको पहिलो राजधानी युक्सोमबाट गरे, जहाँ उनले ‘कोरोनेशन थ्रोन’ अर्थात् राज्याभिषेक सिंहासनको अवलोकन गरे। यही ऐतिहासिक स्थलमा सन् १६४२ मा फुन्त्सोक नामग्याललाई सिक्किमको पहिलो छोग्यालका रूपमा राज्याभिषेक गरिएको थियो। ऐतिहासिक धरोहरको सूक्ष्म निरीक्षण गर्दै राज्यपालले सिक्किमको समृद्ध सांस्कृतिक सम्पदालाई अक्षुण्ण राख्न तथा प्राचीन स्मारकहरूको संरक्षणलाई अझ सुदृढ़ बनाउन विशेष जोड दिए।

ऐतिहासिक स्थलको भ्रमणपछि राज्यपालले युक्सोमस्थित किवी खेती केन्द्रको अवलोकन गरे, जहाँ सिक्किमका प्रसिद्ध ‘किवी म्यान’ बुद्धहाङ सुब्बाले उनीसँग भेट गरे। सुब्बाले क्षेत्रमा किवीको उन्नत खेती प्रविधि तथा यसले किसानहरूको जीविकोपार्जनमा पारेको सकारात्मक प्रभावबारे विस्तृत जानकारी दिए। साथै, उनले औषधीय गुणयुक्त जिन्सेङ खेतीसम्बन्धी प्रयोगहरूको बारेमा पनि राज्यपाललाई जानकारी गराए। कृषि क्षेत्रमा स्थानीय स्तरमा भइरहेका नवीन तथा आत्मनिर्भर प्रयासहरूको राज्यपाल महोदयले प्रशंसा गरे।

यसैगरी, राज्यपालले पर्यावरण संरक्षण तथा स्वच्छताप्रतिको प्रतिबद्धतालाई उजागर गर्ने युक्सोमस्थित रिसोर्स रिकभरी सेन्टरको पनि भ्रमण गरे, जुन क्षेत्रको प्रमुख फोहोर व्यवस्थापन केन्द्रका रूपमा परिचित छ। त्यहाँ उनले सुख्खा र गिलो फोहोर छुट्याउने तथा पुनःप्रयोगसम्बन्धी सम्पूर्ण प्रक्रियाको सूक्ष्म निरीक्षण गरे। साथै, केन्द्रमा विद्युतीय फोहोर सङ्कलन तथा पर्यावरणमैत्री व्यवस्थापनका लागि गरिएका प्रबन्धबारे विशेष जानकारी लिए।

यसै क्रममा राज्यपालले युक्सोमको खेचेपेरीस्थित ‘खेचेपेरी ब्याम्बु हाउस’ को पनि भ्रमण गरे। यहाँ उनले स्थानीय शिल्पकार तथा कारीगरहरूसँग प्रत्यक्ष संवाद गर्दै बाँसबाट तयार गरिएका हस्तकलाका सामग्रीहरूको अवलोकन गरे। स्थानीय कारीगरी तथा वातावरणमैत्री दिगो जीविकोपार्जनको नमूना देखेर राज्यपालले शिल्पकारहरूको सीपको प्रशंसा गरे। साथै, परम्परागत कलालाई जीवन्त राख्न तथा यसलाई ठूला बजारसम्म पुर्‍याउन राजभवनका तर्फबाट हरसम्भव सहयोग उपलब्ध गराइने आश्वासन दिए।

यस भ्रमणका क्रममा क्षेत्र विधायक तथा पर्यटन मन्त्री टीटी भोटिया, जनप्रतिनिधिहरू तथा जिल्ला प्रशासनका वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको लोकभवनले जानकारी गराएको छ।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande