मङ्गन जिल्लाको वार्षिक मनसुन पूर्वतयारी बैठक सम्पन्न
मनसुनको पूर्व तयारी बैठक


मङ्गन, 21 मई (हि.स.)। मङ्गन जिल्लाको वार्षिक मनसुन पूर्वतयारी बैठकले आज जिल्ला प्रशासनिक केन्द्रको सभाकक्षमा सम्पन्न भयो। जिल्लापाल अनन्त जैनको अध्यक्षतामा सम्पन्न उक्त बैठकमा मङ्गनका पुलिस अधीक्षक एलबी छेत्री, अतिरिक्त जिल्लापाल (विकास) डा. सोनाम रिन्छेन लेप्चा, एसडीएम सन्दिप कुमार लगायत जिल्ला प्रशासनिक केन्द्र परिसर तथा वरपर रहेका विभिन्न विभागका कार्यालय प्रमुखहरूको उपस्थिति रहेको थियो। बैठकमा ग्रेफ तथा अन्य सम्बन्धित विभाग र निकायका अधिकारीहरू भर्चुअल माध्यममार्फत सहभागी भएका थिए।

बैठकमा आगामी मनसुनका क्रममा जिल्लामा हुन सक्ने सम्भावित आपदा प्रबन्धन, पूर्वतयारी, विभागहरूको जिम्मेवारी तथा विभिन्न विभागबीच समन्वयलाई अझ प्रभावकारी बनाउने विषयमा विस्तृत छलफल गरिएको थियो।

जिल्लापाल अनन्त जैनले विगतका केही आपदा परिस्थितिहरू स्मरण गर्दै ती अवस्थाहरूमा गरिएको समन्वयात्मक प्रयासको प्रशंसा गरे। उनले उद्धार तथा राहत कार्यमा संलग्न सबै विभाग तथा निकायहरूको योगदानको सराहना गरे।

जिल्लाका विभिन्न कार्यालय प्रमुखहरूसँग अन्तरक्रिया गर्दै उनले आपदा अवस्थाका बेला प्रत्येक विभाग तथा निकायको भूमिकाबारे समीक्षा गरे। विभिन्न विभागका अधिकारीहरूले आफ्नो तयारीको अवस्थाबारे जानकारी गराउँदै सामना गरिरहेका चुनौतीहरू पनि प्रस्तुत गरे, जसमा जिल्ला प्रशासकले आवश्यक सहयोगको आश्वासन दिए।

सडक तथा पुल विभागका अधिकारीहरूले निर्माणाधीन सडक आयोजनाहरूको अवस्था, तत्काल ध्यान दिनुपर्ने समस्याहरू तथा कार्य सम्पन्न गर्ने समयसीमाबारे जानकारी गराए।

त्यसैगरी, ८६ आरसीसी तथा १०७ आरसीसी, ग्रेफका कमान्डिङ अधिकारीहरूले क्रमशः ताराम चु तथा मङ्गन साङ्कलाङ मार्गको सडक सम्पर्क अवस्थाबारे जानकारी दिए। जिल्ला प्रशासकले ती दुवै सडकखण्डका जोखिमयुक्त स्थानहरूमा तत्काल आवश्यक उपाय अपनाउन सम्बन्धित निकायलाई निर्देशन दिए।

जिल्ला जैनले मङ्गन जिल्लामा सामान्यतया लामो समयसम्म मनसुन रहने तथा पैह्रो र प्राकृतिक आपदाको उच्च जोखिम हुने उल्लेख गर्दै प्रत्येक विभागलाई उच्च सतर्कता र पूर्ण तयारीका साथ काम गर्न आग्रह गरे।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande