संस्कृत शिक्षाको विकास, अभिवृद्धि तथा सुदृढीकरणबारे प्यानल छलफल सम्पन्न
कार्यक्रमका प्यानलिस्टहरू


गान्तोक, 21 मई (हि.स.)। सिक्किम सरकारी संस्कृत महाविद्यालयअन्तर्गत विद्यार्थी प्रतिनिधि परिषदद्वारा आयोजित त्रिदिवसीय ‘प्रवाहिनी’ महोत्सवको दोस्रो दिन आज महाविद्यालयको प्रेक्षागृहमा “संस्कृत शिक्षाको विकास, अभिवृद्धि तथा सुदृढीकरण” विषयमा प्यानल छलफल सफलतापूर्वक सम्पन्न भयो। कार्यक्रममा गान्तोक जिल्लाका जिल्लाध्यक्ष बलराम अधिकारी मुख्य अतिथि तथा मुख्यमन्त्रीका अतिरिक्त राजनीतिक सचिव छिरिङ वाङ्चुक लेप्चा विशिष्ट अतिथि थिए।

नरबहादुर भण्डारी सिक्किम सरकारी महाविद्यालयका सहायक प्राध्यापक डा उदय छेत्रीको अध्यक्षतामा सम्पन्न भएको प्यानल छलफलमा सहजकर्ता एनबी घिमिरेले संस्कृत भाषाको विकास, विस्तार र सुदृढीकरणका साथै संस्कृत भाषाको संरक्षण तथा प्रवर्द्धनमा महाविद्यालयले गरिरहेका प्रयाससम्बन्धी विभिन्न प्रश्नहरू प्यानलिस्टहरूसमक्ष प्रस्तुत गरे। उक्त प्रश्नहरूको उत्तर दिँदै सबै प्यानलिस्टहरूले भारतीय ज्ञान परम्परा, राष्ट्रिय शिक्षा नीति २०२० अन्तर्गत संस्कृत भाषाको वर्तमान अवस्था, नीति तथा भविष्यका सम्भावनाबारे आफ्ना धारणा व्यक्त गरे। यी सँगै संस्कृत शिक्षाको प्रवर्द्धन, शैक्षिक गुणस्तर अभिवृद्धि तथा विद्यार्थीहरूमा संस्कृत भाषाप्रति रुचि वृद्धि गर्न आवश्यक पहल र महत्त्वपूर्ण सुझाउहरू पनि प्रस्तुत गरेको आईपीआर विभागले बताएको छ।

कार्यक्रममा सिक्किम विश्वविद्यालयकी प्राध्यापक प्रो. योडिडा भोटिया, नरबहादुर भण्डारी सरकारी महाविद्यालयका सहायक प्राध्यापक डा टेकबहादुर छेत्री, कञ्चनजङ्घा राज्य विश्वविद्यालयका सहायक प्राध्यापक डा कृष्णकुमार सापकोटा, मुख्यमन्त्रीका ओएसडी तथा सिक्किम रूपान्तरण संस्थानका सदस्य डा नीरज अधिकारी, सिक्किम सरकारी संस्कृत महाविद्यालय साम्दोङका सहायक प्राध्यापक डा हेमन्त नेपाल, पत्रकार जगन दाहाल, विद्यार्थी प्रतिनिधिमा सिक्किम सरकारी संस्कृत महाविद्यालयका विद्यार्थी दिपम शर्मा र सरकारी महाविद्यालय बुर्तुकका विद्यार्थी प्रतिनिधि बलराम शर्माले प्यानालिस्टका रूपमा सहभागिता जनाएका थिए।

मुख्य अतिथि बलराम अधिकारीले आफ्नो सम्बोधनमा आजको छलफल अत्यन्त प्रभावकारी र सार्थक रहेको उल्लेख गर्दै कार्यक्रमको सफल आयोजनाका निम्ति आयोजक पक्षको उच्च प्रशंसा गरे। उनले संस्कृत भाषा तथा महाविद्यालयको समग्र विकासका लागि सबै पक्षबिच समन्वय, सहयोग र सक्रिय सहभागिता आवश्यक रहेको बताउँदै संस्कृत भाषाको संरक्षण र प्रवर्द्धन औपचारिक कार्यक्रमबाट मात्र सम्भव नहुने उल्लेख गरे। उनले निम्न स्तरदेखि गरिने निरन्तर प्रयास तथा व्यावहारिक प्रयोगमार्फत मात्र कुनै पनि भाषा जीवित रहन सक्ने धारणा व्यक्त गर्दै महाविद्यालय परिसरमा विद्यार्थी तथा शिक्षकहरूले दैनिक रूपमा संस्कृत भाषाको प्रयोग गर्नुपर्ने र संस्कृत भाषामा लेखन, साहित्य सिर्जना तथा पत्रिका प्रकाशनलाई प्रोत्साहन दिनुपर्नेमाथि विशेष जोड दिए।

विशिष्ट अतिथि छिरिङ वाङ्चुक लेप्चाले संस्कृत भाषा अध्ययनमार्फत ल‍ोकसेवा आयोग र नेट जस्ता राष्ट्रियस्तरका प्रतिष्ठित परीक्षाहरू संस्कृत भाषामा पनि परीक्षा दिन सकिने जानकारी गराउँदै विद्यार्थीहरूलाई यस विषयलाई गम्भीरतापूर्वक लिन आग्रह गरे। उनले राज्य सरकार विद्यार्थीहरूको शैक्षिक उन्नति तथा उज्ज्वल भविष्य निर्माणका लागि आवश्यक सहयोग गर्न सदैव प्रतिबद्ध रहेको बताउँदै उपलब्ध अवसरहरूको पूर्ण सदुपयोग गर्न विद्यार्थीहरूलाई आह्वान गरे।

कार्यक्रमको समापनमा सभाध्यक्ष डा उदय छेत्रीले सम्पूर्ण छलफलको समीक्षा प्रस्तुत गर्दै संस्कृत भाषाको प्रवर्द्धन तथा संस्थागत सुदृढीकरणका लागि आगामी दिनहरूमा गरिनुपर्ने कार्यहरूबारे प्रकाश पारे। उनले संस्कृत विषयमार्फत नेट परीक्षा दिन सकिने सम्भावनाबारे चर्चा गर्दै विद्यार्थीहरूलाई यस्ता प्रतिष्ठित परीक्षाहरूमा आत्मविश्वासका साथ सहभागी बन्न विद्यार्थीहरूलाई प्रेरित गर्दै संस्कृत विषयमा उच्च शिक्षा तथा अनुसन्धानका प्रशस्त अवसरहरू रहेको उल्लेख गरे।

सिक्किम सरकारी संस्कृत महाविद्यालयद्वारा आयोजित उक्त छलफल कार्यक्रममा विभिन्न विश्वविद्यालय तथा महाविद्यालयका प्राध्यापकगण, विद्यार्थी प्रतिनिधिहरू तथा अन्य विशिष्ट आमन्त्रित व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande