
खरसाङ, 21 मई (हि.स.)। तीनधारे महानदी सुकना क्षेत्रमा रहेका इसाईहरुको संगठन ख्रीष्टीय सहयोग संगठनद्वारा तीनधारेको लालमाट्टी क्षेत्रमा बाटो सर सफाई गर्ने काम गरिएको छ। संगठनले तीनधारे लालमाट्टीमा राष्ट्रिय राजमार्ग 110 देखि उकालो विभिन्न समुदायको अन्तिम यात्रा (ग्रेभयार्ड) परिसर हुँदै घैयाबारी ग्राम पञ्चायत दुईको पञ्चायत कार्यालय मुनिसम्मको बाटोको सर सफाई गरेको छ।
विशेष गरेर विद्यार्थीहरु, दैनिक काम गर्न जानेहरु, पञ्चायत कार्यालय जानेहरु यही बाटो भएर हिँड्नु पर्ने भएकाले बाटो सर सफाई गरिएको बताइएको छ। बाटोका मैला र झारपातहरु सफाई गर्नुका साथै वरिपरि सर सफाई गरिएको छ। ख्रीष्टीय सहयोग संगठनले जनसाधारणको सुविधाको लागि बाटो सर सफाई गरेको र भविष्यमा पनि यस्ता सामाजिक कार्यहरु गरिने संगठनका सचिव पास्टर जोहन सुब्बाले बताएका छन्।
यस सर सफाई कार्यमा पास्टर जोहन सुब्बा, पास्टर जर्ज जोहन राई, सचिन राई, एस्तर शर्मा, रेणु परियार लगायत अन्यहरु उपस्थित रहेका थिए।
हिन्दुस्थान समाचार / हनोक