गान्तोक जिल्लाका बीएलओहरूका लागि एसआईआर सम्बन्धी प्रशिक्षण सम्पन्न
एसआईआर प्रशिक्षण


गान्तोक, 22 मई (हि.स.)। गान्तोक जिल्लाअन्तर्गत मतदाता नामावलीको विशेष गहन पुनरीक्षण (एसआईआर) सम्बन्धी बुथ लेभल अफिसर (बीएलओ) हरूका लागि एकदिने प्रशिक्षण आज सिच्छेस्थित जिल्ला प्रशासनिक केन्द्र नजिक गान्तोक जिल्ला पञ्चायतको सम्मेलन हलमा सम्पन्न भयो।

प्रशिक्षण कार्यक्रम गान्तोक जिल्लाअन्तर्गतका आठवटा विधानसभा निर्वाचन क्षेत्रलाई समेटेर दुई अलग-अलग चरणमा सञ्चालन गरिएको थियो। पहिलो चरणमा तुमिन लिङ्गी, खाम्दोङ सिङ्ताम, स्यारी र मार्ताम-रुम्तेक निर्वाचन क्षेत्रका बीएलओहरू सहभागी भएका थिए। दोस्रो चरणमा अप्पर तादोङ, आरिथाङ, गान्तोक र अप्पर बुर्तुक निर्वाचन क्षेत्रका बीएलओहरू सहभागी थिए।

कार्यक्रममा अतिरिक्त जिल्लापाल (मुख्यालय) गान्तोक सिसुम वाङ्चुक भोटियाले सिक्किममा भइरहेको जनसांख्यिकीय परिवर्तनलाई ध्यानमा राख्दै एसआईआर प्रक्रियाको महत्त्वबारे प्रकाश पारे। उनले एसआईआर प्रक्रियाका मुख्य विशेषताबारे जानकारी दिँदै गणना फारम, मस्यौदा मतदाता नामावली तयारी तथा नामावलीमा नाम नभएका व्यक्तिहरूका लागि सुनुवाई र अपील प्रक्रियाबारे विस्तृत रूपमा जानकारी गराए।

उनले विशेषगरी गणना चरणअन्तर्गत बीएलओहरूले घरदैलो भ्रमणमार्फत गणना फारम वितरण तथा सङ्कलन गर्ने कार्यतालिकाबारे जानकारी गराउँदै बीएलओ र मतदाताहरूको भूमिका तथा जिम्मेवारीबारे पनि स्पष्ट पारे। साथै, कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्न बीएलओहरूले बुथ लेभल एजेन्ट (बीएलए) हरूसँग समन्वय गरेर काम गर्न आग्रह गरे।

दोस्रो चरणमा निर्वाचन विभागका एलडीसी नरेन्द्र न्यौपानेले पावरपोइन्ट प्रस्तुतीमार्फत तालिम सञ्चालन गर्दै मतदाता नामावलीलाई शुद्ध र अद्यावधिक राख्न राज्यमा एसआईआर अभ्यासको आवश्यकता रहेको बताए। उनले एसआईआरको कार्यतालिका तथा पुनरावलोकन प्रक्रियाका विभिन्न चरणबारे जानकारी दिए।

कार्यक्रमको अन्त्यमा निर्वाचन विभागकी अवर सचिव श्रीमती धनमाया राईसलीले धन्यवाद ज्ञापन गर्दै बीएलओहरूलाई इमान्दारीपूर्वक जिम्मेवारी निर्वाह गरी तोकिएको समयभित्र कार्य सम्पन्न गर्न आग्रह गरिन्।

कार्यक्रमको शुरुवातमा अधिकारीहरू र बीएलओहरूबीच अन्तरक्रियात्मक सत्र आयोजना गरिएको थियो, जहाँ एसआईआर प्रक्रियासम्बन्धी जिज्ञासा तथा समस्याहरूको समाधान गरिएको थियो।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande