मन्त्री लेप्चाले ग्रेफ अधिकारीहरूसँग लाचेन-मङ्नको सडक सम्पर्क अवस्थाबारे समीक्षा बैठक गरे
Meeting with Gref officials


गान्तोक, 22 मई (हि.स.)। समाजिक कल्याण विभागका मन्त्री तथा लाचेन-मङ्गन निर्वाचन क्षेत्रका विधायक साम्डुफ लेप्चाको टाशीलिङ सचिवालयस्थित कार्यालयमा आज लाचेन-मङ्न निर्वाचन क्षेत्रको सडक सम्पर्क अवस्थाबारे समीक्षा बैठक आयोजना गरियो। बैठकमा विशेष रूपमा चुङथाङ-लाचेन सडक खण्डको अवस्थामाथि पनि छलफल गरिएको बताइएको छ।

बैठकमा प्रोजेक्ट स्वास्तिक, सीमा सडक संगठन (बीआरओ) का प्रमुख अभियन्ता ब्रिगेडियर अमित साखरे तथा ७५८ बीआरटीएफ, ग्रेफका कमाण्डर कर्णेल बी. करण सिंह उपस्थित थिए।

बैठकमा क्षेत्र विधायकले लाचेन जुम्साका जनताले सडक सम्पर्क विच्छेदका कारण भोगिरहेका समस्या र कठिनाइबारे अधिकारीहरूलाई जानकारी गराए। उनले पटक-पटक हुने सडक अवरोधका कारण पर्यटन गतिविधिमा गम्भीर असर परेको उल्लेख गर्दै पर्यटन नै लाचेनवासीहरूको मुख्य जीविकोपार्जनको स्रोत रहेको बताए। आर्थिक दायित्व तथा ऋणको भार बढ्दै जाँदा स्थानीयवासीहरू ठूलो मानसिक र आर्थिक दबाउमा परेको उनले बताए।

क्षेत्र विधायकले जिल्ला प्रशासन मङ्गन तथा चुङथाङका महकुमा अधिकारीहरूसँग नियमित बैठक गर्दै सडक निर्माण कार्य शीघ्र सम्पन्न गराउन तथा जनसुविधा र आवागमन सहज बनाउन समन्वय भइरहेको जानकारी दिए। उनले ग्लोफ विपत्तिपछि विगत साढे दुई वर्षदेखि कठिन अवस्था भोगिरहे पनि लाचेनका जनताले सरकारप्रति धैर्यता, सहयोग र समर्थन कायम राखेको बताए।

दीर्घकालीन तथा दिगो समाधानका रूपमा क्षेत्र विधायकले चुङथाङ-लाचेन सडकअन्तर्गत तारम छु क्षेत्रमा सुरुङ निर्माण गर्न जोड दिए। प्रस्तावित सुरुङले लाचेनवासीका लागि निर्बाध सडक सम्पर्क सुनिश्चित गर्नुका साथै राष्ट्रिय सुरक्षाका दृष्टिले पनि महत्वपूर्ण हुने उनले बताए। मुख्यमन्त्रीले यस विषयलाई अघि बढाउन मुख्य सचिवलाई निर्देशन दिइसकेको तथा सिक्किम सरकारको सडक एवं पुल विभागले भूमि सम्भाव्यता प्रतिवेदन तयार गरी मुख्य सचिवसमक्ष पेश गरिसकेको उनले जानकारी दिए।

अर्कातिर, ग्रेफ अधिकारीहरूले १५ जुलाई, २०२६ सम्म सडक सम्पर्क पुनःस्थापना तथा निर्माण कार्य सम्पन्न गरिने र त्यसपछि सडक सर्वसाधारणका लागि सञ्चालनमा ल्याइने आश्वासन दिएका छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande