
सोनादा, 22 मई (हि.स.)। गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले विधानसभा चुनाउपछि आफ्नो सांगठनिक गतिविधिलाई पहाडमा सक्रिय रुपमा अघि बढाएको छ। यसै क्रममा खरसाङ ब्राञ्च कमिटी अन्तर्गत सोनादा पचेङ्ग समष्टिको निम्न सोनादा भाङबारी शाखाबाट 20 घर परिवारहरु गोरामुमोमा सामेल भएका छन्। भाङबारी सार्वजनिक भवनमा सम्पन्न भएको सभाको अध्यक्षता सुरेश राईले गरेका थिए।
गोरामुमो सोनादा टाउन कमिटी सदस्य शुद्ध तामाङले नयाँ सदस्यहरुलाई सम्बोधन गर्दै भने, अब 2007 को जस्तो घटना दोहोरिनु हुँदैन। अब समय पनि सही आएको छ। अबको नयाँ पुस्ताले दु:ख पाउनु हुँदैन। हाम्रो भावी पीढिले हामीले जस्तो दु:ख भोग्नु हुँदैन। यसकारण सबै एक भएर अगि बढनुपर्छ। अब डबल इन्जिनको सरकार आएको छ। केन्द्रिय गृहमन्त्री अमित शाहले गोर्खाहरुको राजनैतिक समाधान चाडैं हुने घोषणा गरिसकेका छन्।
कार्यक्रमलाई समष्टि अध्यक्ष भुपेन गुरुङले पनि सम्बोधन गरेका थिए। भाङबारी शाखाको अध्यक्ष पदमा अरुण तामाङ अनि गोरानासंमा बिमला प्रधानलाई सर्वसम्मतिले चयन गरिएको छ। समर्थन सभामा रंगबुल धोतरिया रंगबुक समष्टि गोरायुमो अध्यक्ष बिकास सुब्बा, निम्न सोनादा नयाँ कमान शाखा अध्यक्ष सदेव गुरुङ, सन्तोष प्रधान लगायत भाङबारी शाखाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
---------------
हिन्दुस्थान समाचार / हनोक