राज्यपालको तीन दिवसीय गेजिङ जिल्ला भ्रमण समाप्त, महत्त्वपूर्ण समीक्षा बैठकको अध्यक्षता गरे
राज्यपालको तीन दिवसीय गेजिङ जिल्ला भ्रमण समाप्त


गेजिङ, 22 मई (हि.स.)। सिक्किमका राज्यपाल ओमप्रकाश माथुरले आज गेजिङ जिल्लाको आफ्नो तीन दिवसीय औपचारिक भ्रमण सफलतापूर्वक सम्पन्न गरेका छन्। जिल्लाबाट प्रस्थान गर्नुअघि राज्यपालले गेजिङको क्योङ्सास्थित स्थानीय होटलको सम्मेलन हलमा केन्द्र र राज्य सरकारका योजनाहरूको कार्यान्वयन र प्रगति सम्बन्धी एक महत्त्वपूर्ण समीक्षा बैठकको अध्यक्षता गरे।

बैठक सुशासनलाई सुदृढ पार्ने, विकासात्मक प्रगतिको समीक्षा गर्ने, जिल्लामा महत्वपूर्ण पूर्वाधार र कनेक्टिभिटी सरोकारहरूलाई सम्बोधन गर्ने कुरामा केन्द्रित थियो।

बैठकमा राज्यपालले गेजिङका जिल्लापालद्वारा उठाइएका गम्भीर चिन्ताहरूको उल्लेख गर्दै एनएचआईडीसीएललाई जारी कामहरू छिटोभन्दा छिटो सम्पन्न गर्न निर्देशन दिए। यसैगरी, उनले सीमा क्षेत्रमा सम्पर्क बढाउन सीमा आउट पोस्ट चिवाभञ्ज्याङ जाने सीमा सडकमा दशवटा दूरसञ्चार टावरहरू (बेस ट्रान्सीभर स्टेशनहरू) निर्माण गर्न पनि बीएसएनएललाई निर्देशन दिए। उनले सम्बन्धित विभागलाई यस महिनाभित्र जिल्लापालमार्फत लोकसभा सांसदलाई प्रतिवेदन पेश गर्न निर्देश दिए।

राज्यपालले मासिक रूपमा अनुगमन बैठक लोक भवनमा आयोजना हुने बताए। उनले एनएचआईडीसीएल र बीएसएनलएल अन्तर्गत चलिरहेका परियोजनाहरूको अनुगमन गर्न जिल्ला स्तरमा मासिक बैठक सञ्चालन गर्न जिल्लापाललाई पनि निर्देशन दिए।

यस अतिरिक्त, राज्यपालले जिल्लामा कार्यान्वयन भइरहेका विभिन्न जन कल्याणकारी र विकास पहलहरूको स्थितिको पनि समीक्षा गरे। उनले विभाग प्रमुखहरूसँग अन्तरक्रिया गरे र सरकारी योजनाहरू र लाभहरू अविलम्ब लक्षित लाभार्थीहरूसम्म पुऱ्याउनका लागि कुशल समन्वयमा जोड दिए।

बैठकमा सांसद (लोकसभा) इन्द्रहाङ सुब्बा, जिल्लापाल तेन्जिङ डी. डेन्जोङ्पा, पुलिस अधीक्षक छिरिङ शेर्पा, एडीसी (मुख्यालय) तृप्ती हाङमा सुब्बा, एसडीएम (मुख्यालय) सन्देश सुब्बा, कमान्डेन्ट ३६औं बटालियन एसएसबी याङ्ते संजीव कुमार, कमान्डेन्ट ७२औं बटालियन एसएसबी मल्ली आचिङ जय प्रकाश आदि उपस्थित थिए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande