पश्चिम बङ्गालमा गर्मीबाट राहत पाउने सम्भावना क्षीण, उत्तर बङ्गालमा घना वर्षा हुने चेताउनी
पश्चिम बङ्गालमा गर्मीबाट राहत पाउने सम्भावना क्षीण, उत्तर बङ्गालमा घना वर्षा हुने चेताउनी


कोलकाता, 22 मई (हि.स.)। पश्चिम बङ्गालमा जेठ महिनाको प्रचण्ड गर्मीबाट मानिसहरू हैरान भएका छन्। राजधानी कोलकाता समेत दक्षिण बङ्गालका केही भागहरूमा आद्रता अनि चर्को घामले गर्दा जनजीवन प्रभावित भइरहेको छ। यस स्थितिमा मानिसहरूले वर्षाको प्रतीक्षा गरिरहेका छन्। तर मौसम विभागले हाल कोलकाताले राहत पाउने सम्भावना नरहेको बताएको छ।

अलिपुर मौसम विभाग अनुसार कोलकातामा अहिलेघरि हुन्डरी वा व्यापक वर्षा हुने सम्भावना छैन। बीच-बीचमा एक-दुई वटा स्थानमा सामान्य वर्षा भए पनि यसबाट तापमान ह्वात्तै घट्ने आशा छैन। हावड़ा अनि हुगलीको लागि पनि कुनै विशेष चेताउनी जारी गरिएको छैन।

यद्यपि दक्षिण बङ्गालका केही जिल्लाहरूमा शुक्रवारदेखि मेघ-गर्जनसितै वर्षा हुने सम्भावना व्यक्त गरिएको छ। पश्चिम मेदिनीपुर, झाड़ग्राम, पुरुलिया, बाँकुड़ा, पूर्व बर्धमान, पश्चिम बर्धमान, बीरभूम, मुर्शिदाबाद अनि नदियामा वर्षासितै हुरी-बतास आउने चेताउनी जारी गरिएको छ। यीमध्ये पूर्व बर्धमान, बीरभूम, मुर्शिदाबाद तथा नदियामा शुक्रवार 50-60 किलोमीटर प्रतिघण्टाको गतिले तीव्र हावा चल्नसक्छ।

मौसम विभागले बतायो, उत्तर बङ्गालमा घनाभन्दा घना वर्षाको सिलसिला यथावत रहने अनुमान छ। यहाँ आगामी केही दिनसम्म लगातार पानी पर्नको लागि अनुकूल वातावरण सृजना भएको छ।

मौसम वैज्ञानिकहरू अनुसार उत्तर प्रदेशदेखि मणिपुरसम्म एक पूर्व-पश्चिम अक्षरेखा विकसित भएको छ जुन बिहार, गङ्गा तटीय पश्चिम बङ्गालका उत्तरी भाग अनि उत्तर बङ्गलादेश भएर गुज्रिरहेको छ। यस अतिरिक्त पूर्वी उत्तर प्रदेशदेखि ओडिशाको दक्षिणी तटसम्म थप अर्को अक्षरेखा सक्रिय भएको छ जुन झारखण्ड र छत्तीसगढ़माथि भएर गुज्रिरहेको छ।

गङ्गा तटीय पश्चिम बङ्गाल अनि बङ्गलादेशदेखि माथि विकसित चक्रवाती परिसञ्चरण अब दक्षिण बङ्गलादेश तर्फ गइरहेको छ। यसको प्रभावले बङ्गालको खाड़ीबाट प्रचुर मात्रामा जलवाष्प स्थलीय क्षेत्रमा प्रवेश गरिरहेको छ। यसैकारण उत्तर बङ्गाल र दक्षिण बङ्गालका केही भागहरूमा वर्षा अनि हुन्डरीको निम्ति अनुकूल परिस्थिति सृजित भएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande