भारत स्काउट्स एन्ड गाइड्स, सिक्किम राज्य पुरस्कार वितरण समारोह सम्पन्न
भारत स्काउट एन्ड गाइड्स


गान्तोक, 29 जून (हि.स.)।सिक्किमका राज्यपाल ओम प्रकाश माथुर आज लोकभवनको सम्मेलन कक्षमा भारत स्काउट्स एन्ड गाइड्स, सिक्किम राज्य द्वारा आयोजित राज्य पुरस्कार वितरण समारोहमा सहभागी बने। यस अवसरमा भारत स्काउट्स एन्ड गाइड्सका राज्य आयुक्त डीबी छेत्री तथा स्काउट्स एन्ड गाइड्स परिवारको तर्फबाट राज्यपाललाई सम्मानस्वरूप स्कार्फ अर्पण गरियो। राज्यपालले २४ जना राज्य पुरस्कार विजेता १५ जना गाइड र ९ जना स्काउटलाई प्रमाणपत्र प्रदान गर्दै सम्मानित गरेको लोकभवनले जानकारी गराएको छ।

राज्यपालले आफ्नो सम्बोधनमा भारत स्काउट्स एन्ड गाइड्सले युवाहरूलाई जिम्मेवार नागरिक तथा भविष्यका नेतृत्वकर्ताका रूपमा तयार पार्न महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताए। उनले पुरस्कार विजेताहरूलाई बधाई दिँदै यो सम्मान उनीहरूको सेवा, अनुशासन र समाजप्रतिको प्रतिबद्धताको प्रतीक रहेको बताए।

कार्यक्रमका क्रममा बालबालिकाहरूले विभिन्न सांस्कृतिक प्रस्तुति दिएका थिए। ती प्रस्तुतिको प्रशंसा गर्दै राज्यपालले कार्यक्रमहरूमा नारी सशक्तीकरण, सिक्किमको समृद्ध सांस्कृतिक सम्पदा तथा ‘एक भारत श्रेष्ठ भारत’ को भावना जीवन्त रूपमा झल्किएको बताए।

राज्यपालले सबै पुरस्कार विजेताहरूलाई स्काउट प्रतिज्ञा र नियमहरूको इमानदारीपूर्वक पालना गर्न आग्रह गर्दै साँचो नेतृत्व विनम्रता, इमानदारी र करुणाका साथ अरूको सेवा गर्नुमै निहित रहेको बताए। उनले युवाहरूलाई ‘राष्ट्र सर्वोपरि’ को सिद्धान्तलाई आफ्नो जीवनमा आत्मसात् गर्न आह्वान पनि गरे।

यस अवसरमा केही बालबालिकाहरूले स्काउट तथा गाइड गतिविधिबाट प्राप्त आफ्ना अनुभवहरू पनि साझा गरेका थिए।

कार्यक्रममा राज्यका पदाधिकारीहरू, स्काउट मास्टरहरू, गाइड क्याप्टेनहरू तथा ठूलो संख्यामा स्काउट्स, गाइड्स र विद्यार्थीहरूको उपस्थिति रहेको थियो।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande