
गान्तोक, 05 जुलाई (हि.स.)। बर्फुङ निर्वाचन क्षेत्र अन्तर्गत मकथाङ, नाल्लिक, अप्पर लेगशिप, नरदाङ, अप्पर ढॉंडगाउँ र लोवर ढॉंडगॉंउ वार्डबाट एसडीएफ पार्टीका ३२ परिवार आज औपचारिक रूपमा सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) मा सामेल भएका छन्।
नयाँ प्रवेशकर्ताहरूमा दुई पूर्व पञ्चायतहरू, एसडीएफ चेली संयोजक, लेगशिपका एसडीएफ युवा अध्यक्ष र समर्पित पार्टी कार्यकर्ता र समर्थकहरू समावेश रहेको बताइएको छ। एसकेएम ठेकेदार शाखाका उपाध्यक्ष प्रभारी टाशी ग्याल्पो भोटिया लगायत एसकेएम नेताहरूले नयॉं सदस्यहरूलाई स्वागत जनाए।
नयाँ सदस्यहरूले भने, उनीहरू मुख्यमन्त्री प्रेमसिंह तामाङको पारदर्शी, समावेशी र गरिबमुखी शासनबाट प्रेरित छन्। मुख्यमन्त्रीको दूरदर्शी नेतृत्वले सिक्किमभरि अभूतपूर्व विकास र कल्याणका कार्यहरू शुरुवात भएको छ। एसकेएम सरकार समाजको हरेक वर्गको हित र आकांक्षाको रक्षा गर्न दृढ प्रतिबद्ध छ।
सबै नयाँ सदस्यहरूको औपचारिक प्रवेश समारोह चाँडै नै राभाङ्गलामा विधायक रिक्सल दोर्जी भोटियाको नेतृत्वमा आयोजना गरिने बताइएको छ।
हिन्दुस्थान समाचार / बिशाल