खरसाङ हाट बजारका दोकानेहरुको भाजपा प्रतिनिधिहरु र विधायकसित सभा सम्पन्न
Meeting regarding kurseong haat bazar


खरसाङ, 05 जुलाई (हि.स.)। खरसाङ बजारको हाट बजार क्षेत्रका 123 वटा दोकानहरुको समस्यालाई लिएर आज खरसाङका विधायक सोनाम लामा र भारतीय जनता पार्टीका प्रतिनिधिहरुसित सभा भएको छ। गत शनिवार खरसाङ नगरपालिका प्रशासनबाट हाट बजार क्षेत्रका 123 वटा दोकानहरुलाई 15 दिनभित्रमा दोकानहरु सार्नु पर्ने सूचना आएपछि 123 वटा दोकानहरुलाई लिएर विभिन्न अडकलबाजी शुरु भएको छ।

यस सूचनाको विरोधमा दोकानेहरुले दुई दिन दोकान बन्द गरेका थिए। अर्कातिर, सूचना पाएका 123 वटा दोकानेहरुलाई अफवाहमा नकुद्न विधायक सोनाम लामाले आह्वान गरेका थिए। उनले दोकानेहरुलाई लिएर सभा गर्ने आश्वासन पनि दिएका थिए। सोही अनुरुप आज गोर्खा जनपुस्तकालय भवनमा सभा सम्पन्न भयो।

सभामा खरसाङ हाट बजार व्यवसायी संगठनका प्रतिनिधिहरु, खरसाङका विधायक सोनाम लामा, भाजपा प्रतिनिधिहरु, खरसाङ नगरपालिकाको लागि भाजपाका तीनजना प्रतिनिधिहरु बिनय प्रसाद, रामकृष्ण शर्मा र निशान सुनार आदि उपस्थित थिए।

यस विषयलाई लिएर अब अघिल्लो सभा प्रशासनिक रुपमा मंगलवार दिउँसो हुने जानकारी प्राप्त भएको छ। सभामा विधायक लामाले दोकानेहरुलाई सकारात्मक आश्वासन दिएको जानकारी प्राप्त भएको छ।

यस सभा विषयमा पत्रकारहरुलाई सम्बोधन गर्दै खरसाङ हाट बजार व्यवसायी संगठनका सभापति राजु सेवाले खरसाङ हाट बजार व्यवसायी संगठनका प्रतिनिधिहरु र खरसाङका विधायक साथै भाजपाका प्रतिनिधिहरुमाझ आज सभा सम्पन्न भएको बताए। उनले सभामा विधायक सोनाम लामाले दोकानेहरुलाई सकारात्मक आश्वासन दिएको बताए। उनले अर्को सभा प्रशासनिक रुपमा आगामी मंगलवार हुने पनि जानकारी गराए।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande