
गान्तोक, 29 जून (हि.स.)। सिक्किम सरकारको महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा दिव्याङ्गजन कल्याण विभागका सहायक आयुक्त डा. एमबी छेत्री र वरिष्ठ पी एण्ड ओ अभियन्ता लग्याल पिन्छो भोटियाले इन्द्रकील डेस्टिट्यूट होमको औपचारिक भ्रमण गरे। भ्रमण टोलीमा एनएलयू कोलकाताका सहायक प्राध्यापक तथा प्रोजेक्ट एबिलिटी एम्पावरमेन्ट पहलका नोडल अधिकृत विजय किशोर पनि उपस्थित थिए। उनले भारतको सर्वोच्च अदालतको निर्देशनअनुसार उक्त परियोजनाअन्तर्गत संस्थाको भ्रमण गरेको बताइएको छ।
इन्द्रकील डेस्टिट्यूट होम सिक्किम युथ वेलफेयर एसोसिएसनले सञ्चालन गर्दछ। यो भ्रमण प्रोजेक्ट एबिलिटी एम्पावरमेन्ट अन्तर्गत गरिएको हो, जसको मुख्य उद्देश्य संस्थामा उपलब्ध सुविधाहरूको मूल्याङ्कन गर्नुका साथै यहाँ बसोबास गर्ने दिव्याङ्ग व्यक्तिहरूका लागि उपलब्ध सहयोग तथा सेवा प्रणालीलाई अझ सुदृढ़ बनाउनु रहेको बताइएको छ।
इन्द्रकील डेस्टिट्यूट होम व्यवस्थापनले भ्रमणमा आएका सबै विशिष्ट अतिथिहरूप्रति उनीहरूको बहुमूल्य समय, रचनात्मक सुझाउ तथा असहाय र संवेदनशील व्यक्तिहरूको कल्याण, सम्मान र सशक्तीकरणप्रति निरन्तर सहयोगका लागि हार्दिक आभार व्यक्त गरेको छ।
---------------
हिन्दुस्थान समाचार / बिशाल