किसानहरूको अथक परिश्रमले नै हाम्रो जीवनलाई समृद्ध र सुरक्षित बनाएको छ: मुख्यमन्त्री
ps tamang


गान्तोक, 29 जून (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले असार १५ को पावन अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली भाषी एवं नेपाली परम्परासंग सम्बन्धित जनसमुदायमा हार्दिक अभिवादन साथै शुभकामना व्यक्त गरेका छन्।

मुख्यमन्त्रीले आज जारी आफ्नो सन्देशमा भने, असार १५ कृषकहरूको श्रम, समर्पण, मनोरञ्जन, परस्परमा एकता, अखण्डता, मैत्रीभावना साथै आशा-उमंगको प्रतीकको दिन हो। यो दिन खेतबारीमा हिलोआली साथै धान रोपाइँको व्यस्तताका बीच किसानहरूको अथक मेहनतलाई सम्मान गर्ने, कृषि संस्कृतिको संरक्षण गर्ने तथा कृषिप्रति समाजको प्रतिबद्धतालाई पुनः स्मरण गर्ने सुनौलो अवसर पनि हो। यस पुनित अवसरमा दही-चिउरा खाने परम्पराले हाम्रो मौलिक संस्कृति, सामाजिक सद्भावना र सामूहिकताको भावनालाई अझ सुदृढ बनाउँदै आएको छ।

उनले कृषि हाम्रो अर्थतन्त्रको महत्वपूर्ण आधार हो भन्दै खाद्य सुरक्षाको सुनिश्चितता, ग्रामीण अर्थतन्त्रको सुदृढीकरण तथा आत्मनिर्भर समाज निर्माणमा कृषकहरूको योगदान अतुलनीय रहेको बताएका छन्। उनले भने, किसानहरूको अथक परिश्रमले नै हाम्रो जीवनलाई समृद्ध र सुरक्षित बनाएको छ। त्यसैले कृषकहरूको सम्मान, कृषि उत्पादनको वृद्धि तथा आधुनिक, व्यवसायिक र दिगो कृषि प्रणालीको विकास आजको आवश्यकता हो।

मुख्यमन्त्रीले भने, हाम्रो सरकार कृषकहरूको हितलाई केन्द्रमा राखेर कृषि क्षेत्रको आधुनिकीकरण, सिंचाइ सुविधाको विस्तार, गुणस्तरीय बीउ तथा प्रविधिको पहुँच, जैविक खेतीको प्रवर्द्धन र कृषि उद्यमशीलताको विकासका लागि निरन्तर प्रयत्नशील रहेको छ। हाम्रा युवापुस्तालाई कृषि क्षेत्रमा आकर्षित गर्दै कृषि र पर्यटनलाई जोडेर ग्रामीण अर्थतन्त्र एवं समृद्धिको नयाँ आधार निर्माण गर्ने दिशामा समेत हाम्रो सरकार प्रतिबद्ध रहेको छ।

उनले यस महत्त्वपूर्ण अवसरमा सम्पूर्ण कृषक समुदायको कठिन परिश्रमप्रति उच्च सम्मान व्यक्त गर्दै उनीहरूको सुख, शान्ति, समृद्धि साथै उत्तरोत्तर प्रगतिको मंगलमय कामना गरेका छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande