
गान्तोक, 29 जून (हि.स.)। सिक्किम एक्सप्रेस अंग्रेजी दैनिक समाचार पत्रकी संस्थापक-प्रकाशक तथा नेपाली दैनिक हिमाली बेलाकी सम्पादक माला राणा पात्रोलाई प्रेस क्लब अफ् सिक्किमले 'कञ्चनजङ्घा कलम पुरस्कार 2026' ले पुरस्कृत गर्ने घोषणा गरेको छ। उनलाई यो पुरस्कार आगामी 17 जुलाई, 2026 को दिन प्रेस क्लब अफ् सिक्किमको 24औं स्थापना दिवसको अवसरमा प्रदान गरिनेछ। उक्त जानकारी प्रेस क्लबले आज जारी प्रेस विज्ञप्तिमा दिएको छ।
माला राणा पात्रोलाई सिक्किमको सञ्चार तथा पत्रकारिता क्षेत्रमा पुर्याएको दीर्घकालीन र उल्लेखनीय योगदानको कदरस्वरूप यो पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो। श्रीमती पात्रो 1976 देखि सिक्किम एक्सप्रेस मार्फत् पत्रिका प्रकाशनसँग आबद्ध रहँदै आएकी छन्। करिब पाँच दशकसम्म उनले सिक्किमको सञ्चार जगत् निर्माण र विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएकी छन्। यसै वर्ष सिक्किम एक्सप्रेसले आफ्नो स्वर्ण जयन्ती मनाउँदै 50 वर्षको सफल प्रकाशन यात्रा पूरा गरेको छ, जुन सिक्किमको पत्रपत्रिका इतिहासमा एक ऐतिहासिक उपलब्धि हो।
2005 मा स्थापना भएको कञ्चनजङ्घा कलम पुरस्कार प्राप्त गर्ने श्रीमती पात्रो दोस्रो महिला हुन्। 1994 मा पति, स्वर्गीय राम पात्रोको असामयिक निधनपछि पनि उनले दुईवटा पत्रिका प्रकाशनलाई निरन्तरता दिँदै आफ्ना दुई सन्तान एकता पात्रो र अमित पात्रोलाई हुर्काइन्। यस कठिन परिस्थितिमा देखाएको उनको दृढ़ता, नेतृत्व क्षमता र पत्रकारिताप्रतिको समर्पण प्रेरणादायी रहेको छ। पछि अमित पात्रो सिक्किम एक्सप्रेसका सम्पादक बनेर आफ्नो पिता र माताको मेहनत तथा पत्रकारिताको विरासतलाई अगाडि बढाइरहेका छन्।
श्रीमती पात्रोलाई यसअघि पनि विभिन्न सङ्घ-संस्थाहरूले सम्मानित गरिसकेका छन्। उनलाई खरसाङ प्रेस क्लब (2004), प्रेस क्लब अफ सिक्किम (2015), नेपाली साहित्य परिषद्, सिक्किम (2016) तथा सिक्किम महिला पत्रकार सङ्घ, लगायतका संस्थाहरूले पत्रकारिता र समाजप्रतिको अमूल्य योगदानको कदर गर्दै सम्मान प्रदान गरेका छन्।
कञ्चनजङ्घा कलम पुरस्कार जस्तो सिक्किमको प्रतिष्ठित पुरस्कारबाट पुरस्कृत हुन लागेकी श्रीमती पात्रोलाई प्रेस क्लब अफ् सिक्किम हार्दिक बधाई टक्र्याएको छ।
---------------
हिन्दुस्थान समाचार / बिशाल