
गान्तोक, 29 जून (हि.स.)। प्रेस क्लब अफ् सिक्किमले वर्षेनी आफ्नो स्थापना दिवसको अवसरमा प्रदान गर्ने 'लगनशील युवा पत्रकार पुरस्कार' यस वर्ष पत्रकार सन्दीप प्रसादलाई प्रदान गर्ने घोषणा गरेको छ। पत्रकारिता क्षेत्रमा करिब दुई दशकदेखि निरन्तर समर्पण, लगनशीलता र उल्लेखनीय योगदान पुर्याएको सम्मानस्वरूप उनलाई यो पुरस्कारले पुरस्कृत गरिने घोषणा गरिएको हो।
प्रेस क्लबले आज बताए अनुसार, सन्दीप प्रसादको जन्म 10 अक्टोबर, 1990 मा पिता शम्भु प्रसाद र माता माया देवीको कोखबाट भएको हो। उनले सन् 2007 मा कक्षा 12 उत्तीर्ण गरेपछि सन् 2008 देखि पत्रकारिता क्षेत्रमा प्रवेश गरेका थिए। त्यसयता उनले प्रिन्ट, टेलिभिजन तथा डिजिटल मिडिया क्षेत्रमा सक्रिय रूपमा पत्रकारिता गर्दै आएका छन्।
पत्रकार सन्दीप प्रसादले आफ्नो पत्रकारिता यात्रा साङ्ग्रिला टाइम्स नेपाली दैनिकबाट शुरु गरेका थिए, जहाँ उनले सन् 2008 देखि 2014 सम्म कार्य गरे। त्यसपछि उनी नित्य समय (2014-16) र हिमालय दर्पण (2016-17), द भ्वाइस अफ सिक्किम (2017-18) र एबीएन टीभी (2018-19) मा काम गरेका थिए।
सोही अवधिमा उनी समिट टाइम्ससँग पनि आबद्ध भई सन् 2016 देखि 2022 सम्म काम गरे। त्यसपछि हाम्रो प्रजाशक्ति (2023-24), इन्द्रकील पोस्टसँग (2024-अप्रेल 2026), सम्म काम गरे। यसका साथै, सिलगढ़ीबाट सञ्चालन हुने एसके लाइभ डिजिटल न्युज र खबर समयमार्फत पनि डिजिटल पत्रकारितामा योगदान दिएका छन्। हाल उनी हाम्रो खबरसँग आबद्ध रहँदै डिजिटल पत्रकारितामा सक्रिय छन्।
'लगनशील युवा पत्रकार पुरस्कार-2026' पत्रकारिता क्षेत्रमा उनको निरन्तर सेवा, समर्पण, व्यावसायिक निष्ठा तथा सिक्किमको मिडिया जगतमा पुर्याएको महत्त्वपूर्ण योगदानको कदरस्वरूप प्रदान गर्न लागिएको हो। उक्त पुरस्कार आगामी 17 जुलाईमा गान्तोकमा आयोजना हुने प्रेस क्लब अफ सिक्किमको 24औँ स्थापना दिवस समारोहका अवसरमा प्रदान गरिनेछ।
लगनशील युवा पत्रकार पुरस्कार जस्तो सिक्किमको प्रतिष्ठित पुरस्कारबाट पुरस्कृत हुन लागेका सन्दीप प्रसादलाई प्रेस क्लब अफ् सिक्किम हार्दिक बधाई टक्र्याएको छ।
---------------
हिन्दुस्थान समाचार / बिशाल