
सोनादा, 29 जून (हि.स.)। सोनादाको मुण्डाहट्टा बस्ती निवासी पूर्णिमा लकान्द्री र उनको भाई शरण लकान्द्रीको घरमा चट्याङले ठूलो नोक्सानी गरेको छ। आइतबार राति लगभग 11 बजी चट्याङले घरको छेउमा रहेको 60 वर्ष पुरानो देवदारको रुखमा ढलेर घरलाई क्षतिग्रस्त बनाएको छ।
स्थानीय मानिसहरूका अनुसार, चट्याङले लागेर रूख बम जस्तै विस्फोट भएको थियो र रुखका चोइटाहरू लगभग 40 फिट वरपर छरिएको थियो। चट्याङले बिजुली बत्तीका तारहरू पनि पूर्णरूपमा क्षतिग्रस्त बनाएको छ। खबर पाउनसाथ विद्युत् विभागका कर्मचारीहरु उक्त स्थानमा पुगेर विद्युत व्यवस्था पुनःबहाली गर्ने कार्य शुरु गरेको जानकारी प्राप्त भएको छ।
चट्याङको करणले कुनै मानव क्षति नभएको बताइएको छ। पीडित परिवारको आर्थिक स्थिति राम्राे नरहेकाले यस घटनापछि चिन्तित बनेका छन्। चट्याङले गरेको हानी नोक्सानी विषयमा बताउँदै पूर्णिमा लकान्द्रीले सरकार साथै सांसद राजु बिष्ट, विधायक सोनाम लामा अनि सम्बन्धित निकायहरू समक्ष गुहार लगाएकी छन्।
निम्न सोनादा ग्राम पञ्चायत एकका उप प्रधान थिलेन लामाले निरीक्षण गरी क्षतिको विवरण खण्ड विकास अधिकारी साथै सम्बन्धित निकायहरूलाई पठाएको बताएका छन्। उनले सबै अधिकारीहरुसित बैठक गरी भावी कार्य गरिने जानकारी गराए।
---------------
हिन्दुस्थान समाचार / हनोक