
गुवाहाटी, 30 जून (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले भने, हिमाली क्षेत्रहरूबाट आएको अनियन्त्रित जलधाराको कारणले धेमाजी जिल्ला अन्तर्गत वृहत्तर जोनाई क्षेत्रमा भीषण बाढ़ीको स्थिति उत्पन्न भएको छ। यस प्राकृतिक आपदाले धेरै वटा गाउँहरूलाई व्यापक क्षति पुऱ्याएको छ भने कैयौं परिवारहरूले कठिन परिस्थितिको सामना गरिरहेका छन्।
मुख्यमन्त्रीले आफ्नो सोशल मीडिया पोस्टमा बताए, तेलाम, मिसामोरा औ रामधन दिखारी ग्राम पञ्चाय अन्तर्गत मधुपुर, अरुण चापोरी, जामुगुड़ी सियारी, नम्बर-2 उलुवानी, माजगाउँ तथा नम्बर-2 औ नम्बर-3 मलान गाउँ बाढ़ीले गम्भीर रूपमा प्रभावित भएका छन्। बाढ़ीले मानिसहरूको गर, कृषि भूमि अनि आजीविकामाथि गहिरो प्रभाव पारेको छ।
उनले भने, यस सङ्कटको घड़ीमा राज्य सरकार प्रभावित मानिसहरूको साथमा सशक्त रूपमा उभिएको छ। सरकार अनि जिल्ला प्रशासनले राहत, पुनर्वास तथा आवश्यक सहायता उपलब्ध गराउनको लागि समन्वयको साथमा काम गरिरहेको छ भने केही आवश्यक पहलहरू पहिलाबाटै उठाइसकिएको छ। मुख्यमन्त्रीले विश्वास व्यक्त गरे, सबैको सहयोग,साहस तथा संवेदनसीलताबाट यस सङ्कटलाई चाँड़ै नियन्त्रण गरिनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा