
कार्बी आङ्गलोङ्ग (असम), 30 जून (हि.स.)। कार्बी आङ्गलोङ्ग ज़िल्लास्थित असम-नागाल्याण्ड सीमावर्ती क्षेत्रमा निर्माणाधिन रेलवे परियोजनामाथि कथित रूपमा ग्रेनेड हमला गरियो। तर ग्रेनेड विस्फोट नभएको कारणले कुनै पनि प्रकारको नोक्सान भएन। यस आशयको जानकारी पुलिस अधिकारीहरूले मङ्गलवार दिएका हुन्।
सूत्रले बताएको छ, यो घटना गए सोमवार अपरान्हपछि धनसिरी क्षेत्रस्थित रोङ्गाफार साइडिङ्गमा भएको हो जहाँ अहिलेघरि रेलवेको निर्माण कार्य भइरहेको छ। अधिकारीहरू अनुसार साइटमा ग्रेनेड फालिएको भए पनि त्यो विस्फोट भएन जसले गर्दा कुनै पनि कर्मचारी घाइते भएन। साथै पूर्वाधारलाई पनि कुनै किसिमको नोक्सान पुगेको छैन।
घटनापछि सूचना पाउनसाथ पुलिसको टीमले घटनास्थलमा पुगेर जाँच गर्न शुरू गऱ्यो। अधिकारीहरूले ग्रेनेड हमलासित सम्बन्धित स्थितिको जाँच गरिरहेका छन् साथै यसको लागि जिम्मेवार मानिसहरूलाई चिन्हित गर्ने प्रयास गरिरहेका छन्। सुरक्षा एजेन्सीहरूले अहिलेसम्म घटना पछाड़िको उद्देश्य बारे अहिलेसम्म खुलासा गरेका छैनन्। अग्रिम जाँच जारी छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा