भारतीय गोर्खाहरुको सबैभन्दा पुरानो र ऐतिहासिक धरोहर गोर्खा जन पुस्तकालयको चुनाउ प्रक्रिया आरम्भ
भारतीय गोर्खाहरुको सबैभन्दा पुरानो र ऐतिहासिक धरोहर गोर्खा जन पुस्तकालयको चुनाव प्रक्रिया आरम्भ


खरसाङ, 30 जून (हि.स.)। गोर्खा जन पुस्तकालय, खरसाङको वर्तमान कार्यकारी समितिको दुई वर्षिय कार्यकाल पूरा भएको छ। नयाँ कार्यसमिति गठनका लागि आगामी 19 जुलाईको दिन चुनाउ हुने भएको छ। यस क्रममा चुनाउ अधिकारीहरू मणिकचन्द प्रधान, वरिष्ठ अधिवक्ता, भीमबहादुर छेत्री, पूर्व प्रधान अध्यापक अनि जगतप्रसाद तामाङ, पूर्व कार्यक्रम निष्पादक, आकाशवाणी खरसाङलाई पुस्तकालयका अध्यक्ष रविनकुमार प्रधानको बाहुलीबाट खदार्पण गरी चुनाउ प्रक्रियाको दायित्व औपचारिकमा सुम्पिएको छ।

114 वर्षमा हिँड़्दै गरेको गोर्खाहरूका सबैभन्दा पुरानो र ऐतिहासिक गरिमा बोकेको धरोहर संस्था गोर्खा जन पुस्तकालयको कार्यकारी समितिको गठन गोप्य मतदानद्वारा गरिने गर्दछ। यसको संविधानअनुरूप यस संस्थानको चुनाउ प्रक्रियाको पहिलो औपचारिकता नामाङ्कन पत्र वितरण मंगलवारदेखि शुरू भयो। नामाङ्कन पत्र वितरण प्रक्रिया 3 जुलाईसम्म चल्नेछ अनि 4 र 5 जुलाईमा नामाङ्कन पत्र जमा गर्ने, 6 जुलाईको दिन नामाङ्कन पत्र जाँच, 7 जुलाईको दिन फिर्ता र 8 जुलाईको दिन वैध मतदाता सूची प्रकाशन हुनेछ।

यस औपचारिक कार्यक्रममा पुस्तकालयका अध्यक्ष रवीनकुमार प्रधान लगायत सचिव विनोद रसाइली, उपाध्यक्ष प्रकाश प्रधान, तिलक शर्मा, कोषाध्यक्ष उत्तमकुमार गुरुङ, सह सचिव गोमा सुब्बाको पनि उपस्थिति रहेका थिए। यस बाहेक सचिवले आगामी 4 जुलाईको दिन नेपाली भाषाका अग्रणी सेवक तथा पहिलो खबर कागज ' गोर्खे खबर कागत्'- सम्पादक तथा प्रकाशक पादरी गङ्गाप्रसाद प्रधानको 176 औँ जन्म जयन्ती सदा झैँ स्थानीय गोर्खा जातीय विभूति उद्यानमा श्रद्धाञ्जली कार्यक्रमको रूपमा बिहान 9.30 बजी पालन गरिने कुरो जानकारी गराए।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande