ग्यास पाइपलाइन दुर्घटनाबाट हल्दियामा रेल यातायात प्रभावित
ग्यास पाइपलाइन दुर्घटनाबाट हल्दियामा रेल यातायात प्रभावित


मेदिनीपुर, 30 जून (हि.स.)। पूर्व मेदिनीपुर जिल्लाको चिरञ्जीबपुर क्षेत्रमा मङ्गलवार बिहान ठूलो दुर्घटना भयो। एलसी गेट नम्बर-56 को उत्तर दिशामा उद्योगप्रवेश रेलवे स्टेशनको छेउमा लगभग 50 मीटर टाड़ा एचपीएल (हल्दिया पेट्रोकेमिकल्स लिमिटेड)- को ग्यास पाइपलाइन फाटेर भयानक आगो लाग्यो। आगोको चपेटेमा परेर रेलवेको ओभरहेड इलेक्ट्रिक लाइन र ट्रान्सफर्मर लगायत रेल लाइनका केही भागहरू जलेर क्षतिग्रस्त भयो।

दुर्घटनाकै कारणले ट्रेन सङ्ख्या 38052 हल्दिया-हावड़ा लोकल हल्दियाबाट प्रस्थान हुनसकेन। स्थितिलाई नियन्त्रण गर्नको लागि दमकलका केही वाहनहरू घटनास्थलमा आइपुगे। यस दुर्घटनामा स्थानीय तीन जना मानिसहरू घाइते भएका छन् जसलाई तमलुक मेडिकल कलेज एवं अस्पतालमा भर्ती गरिएको छ।

रेल सूत्र मुताविक चिरञ्जीबपुर क्षेत्रमा एचपीएलको नेफ्था पाइपलाइन फाटेर आगो लागेको कारणले उद्योगप्रवेश स्टेशनको छेउमा रेलवेको ओभर हेड तार जलेर गम्भीर रूपमा क्षतिग्रस्त भयो। यसले गर्दा आज 38052 हल्दिया-हावड़ा लोकललाई रद्द गरिएको छ।

यस अतिरिक्त 38051 हावड़ा-हल्दिया लोकल अब हल्दियासम्म जानेछैन। दुर्गाचक स्टेशनबाटै फर्किनेछ। आसनसोल-हल्दिया एक्सप्रेस पनि विलम्ब गरी चल्नसक्छ भने हल्दियासम्म नपुगेर दुर्गाचकबाटै फर्किनेछ।

रेलवेको टीआरडी विभागका कर्मचारीहरू मरम्मत गर्नका लागि घटनास्थलमा आइसकेका छन्, तर आगोको गति तीव्र भएको कारणले हाल काम शुरू हुन सकेको छैन। त्यसैले यस रूटमा ट्रेन सेवाहरू कहिले सामान्य हुने हो कुनै निश्चित छैन।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande