
दार्जिलिङ, 30 जून (हि.स.)।दार्जीलिङ प्रशिक्षित बेरोजगार युवा कल्याण संगठनका अध्यक्ष सुदन गुरुङलाई जीटीए शिक्षक भर्ती घोटालासम्बन्धी मुद्दामा ज्यानमारा धम्की आएको जानकारी प्राप्त भएको छ। यस विषयमा उनले दार्जिलिङ सदर पुलिस थानामा एफआईआर दर्ता गरेका छन्।
दार्जीलिङ प्रशिक्षित बेरोजगार युवा कल्याण संगठनका अध्यक्ष सुधन गुरुङले स्पिड पोस्टमार्फत् ज्यानमारा धम्की पाएपछि दार्जिलिङ सदर पुलिस थानामा औपचारिक उजुरी दर्ता गराएका छन्।
सुदन गुरुङले 29 जून, 2026 को साँझ एक अज्ञात व्यक्तिबाट स्पिड पोस्टमार्फत पठाइएको पत्र प्राप्त गरेका थिए। नेपाली र अंग्रेजी भाषाको मिश्रणमा लेखिएको उक्त पत्रमा उनलाई आफ्ना कानुनी लडाइँहरू तुरुन्त रोक्न “अन्तिम चेताउनी” दिइएको छ। उक्त धम्कीपूर्ण पत्र कथित रूपमा “132 GROUP Volunteer Teachers Mandatory Order Group, High School-GTA” नामक समूहबाट पठाइएको बताइएको छ।
आफ्नो उजुरीमा गुरुङले यो पहिलो पटकको धम्की नभएको उल्लेख गरेका छन्। उनले 8 मई, २०२५ मा दार्जिलिङ सदर पुलिस थानाबाट केही दूरीमै अज्ञात व्यक्तिहरूद्वारा आफूमाथि भएको गम्भीर आक्रमणको घटना स्मरण गराउँदै सो सम्बन्धी मुद्दा हाल अदालतमा विचाराधीन रहेको बताएका छन्। गुरुङले आफ्नो ज्यान, परिवार तथा आफ्नो संगठनका सदस्यहरूको सुरक्षाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यस प्रकारको धम्की आफूलाई संवैधानिक अधिकार प्रयोग गर्न तथा कलकत्ता उच्च अदालतमा दायर गरिएका भ्रष्टाचारविरुद्धका मुद्दाहरू अघि नबढाउन दबाउ दिने स्पष्ट प्रयास भएको बताएका छन्।
उनले उक्त स्पिड पोस्टको स्रोत पत्ता लगाउन हुलाक कार्यालयको सीसीटीभी फुटेज जाँच, हस्तलेखन परीक्षण, औँलाछाप परीक्षणलगायत सम्पूर्ण फरेन्सिक अनुसन्धान गर्न तथा आफूलाई तत्काल पुलिस सुरक्षा उपलब्ध गराउन माग गरेका छन्।
---------------
हिन्दुस्थान समाचार / हनोक