
मऊ, ३० जुन (हि.स.)। उत्तर प्रदेशको मऊ जिल्ला अन्तर्गत घोसी थाना क्षेत्रको लाखीपुर फोरलेन सड़क किनारमा मङ्गलवार बिहान एक अज्ञात युवकको शव फेला परेको छ। मृतकको टाउको र धड अलग-अलग अवस्थामा भेटिएकाले घटना हत्या हुनसक्ने आशंका गरिएको छ। पुलिसले घटनाबारे विस्तृत अनुसन्धान शुरु गरेको छ।
प्राप्त जानकारी अनुसार, मङ्गलवार बिहान लगभग ८ बजी लाखीपुर फोरलेन हुँदै यात्रा गरिरहेका केही व्यक्तिहरूले सड़क किनारको झाड़ीमा शव देखेपछि स्थानीयवासीलाई खबर गरेका थिए। त्यसपछि घटनास्थलमा स्थानीयको भीड़ लाग्यो।
सूचना प्राप्त हुनासाथ पुलिस टोली घटनास्थलमा पुगेर अनुसन्धान शुरु गर्यो। घटनाको संवेदनशीलतालाई ध्यानमा राख्दै फरेन्सिक टोली र डग स्क्वाडलाई पनि घटनास्थलमा बोलाइयो। टोलीले घटनास्थलबाट विभिन्न प्रमाण सङ्कलन गरेको छ। साथै पुलिसले वरपर जड़ान गरिएका सीसीटीभी क्यामेराको फुटेज समेत जाँच गरिरहेको छ।
घोसी थाना प्रभारी रवीन्द्रनाथ राय अनुसार मृतकको उमेर लगभग २५ देखि ३० वर्षको बीचमा रहेको अनुमान गरिएको छ। मृतकले जिन्स पाइन्ट र टी–सर्ट लगाएका थिए। हालसम्म उनको पहिचान खुल्न सकेको छैन।
पुलिसले वरपरका विभिन्न थानाहरूमा दर्ता भएका हराएका व्यक्तिहरूको विवरणसँग तुलना गरिरहेको छ। साथै सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट पनि मृतकको पहिचान गराउने प्रयास भइरहेको बताइएको छ।
थाना प्रभारी रायले प्रारम्भिक अनुसन्धानका आधारमा यो हत्या भएको घटना जस्तो देखिएको बताए। हत्या अन्यत्रै गरेर शवलाई फोरलेन सड़क किनारमा ल्याएर फालिएको हुनसक्ने आशंका पनि गरिएको छ। यद्यपि घटनाको वास्तविकता अनुसन्धान तथा पोस्टमार्टम प्रतिवेदनपछि मात्र स्पष्ट हुने पुलिसले जनाएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी