युक्समका एसडीएमले याङताममा पैह्रो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरे
Visit of Landslide areas


गेजिङ, ३० जून (हि.स.)। युक्समका महकुमा अधिकारी जेपी तार्गेनको अगुवाईमा एक प्रतिनिधिमण्डलले युक्सम महकुमा अन्तर्गत याङताममा पैह्रो प्रभावित क्षेत्रको निरीक्षण गरे। गत 28 जूनमा अविरल वर्षापछि गएको पैह्रोले याङताममा निकै क्षति गरेको छ।

भ्रमणका क्रममा महकुमा अधिकारीले पैह्रो प्रभावित बासिन्दाहरूसँग प्रत्यक्ष भेटघाट गरी उनीहरूका समस्या सुने तथा घर र सम्पत्तिमा पुगेको क्षतिबारे प्रत्यक्ष जानकारी लिए। पैह्रोले याङताम-कोङ्ग्री जोड्ने सडकलाई ठूलो क्षति पुगेको पाइएको छ। सडक पूर्ण रूपमा अवरुद्ध भएकाले स्थानीयवासीको आवतजावत तथा अत्यावश्यक सेवामा गम्भीर असर परेको छ।

महकुमा अधिकारी तार्गेनले सडक यथाशीघ्र पुनः सञ्चालनमा ल्याउन आवश्यक रहेकोमा जोड दिँदै सम्बन्धित निकायसँग समन्वय गरी छिटो पुनर्स्थापनाका लागि पहल गरिने आश्वासन दिए। उनले आपदाको यस कठिन घडीमा प्रभावित समुदायसँग निरन्तर साथ रहने प्रतिबद्धता व्यक्त गर्दै द्रुत स्थलगत प्रतिक्रिया, समन्वित आपदा व्यवस्थापन तथा जनजीवन र जीविकोपार्जनको सुरक्षाका लागि निरन्तर प्रयास जारी रहने जनाएका छन्।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande