प्रेस क्लब र जर्नलिस्ट युनियनद्वारा किरण रसाइलीको निधनमा शोक व्यक्त
किरण रसाइली


गान्तोक, 30 जून (हि.स.)। प्रेस क्लब अफ सिक्किम र जर्नलिस्ट युनियन अफ सिक्किमले सिक्किमका प्रख्यात वास्तुविद् किरण रसाइलीको निधनमा गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेको छ। प्रख्यात वास्तुविद् किरण रसाइलीको सोमबार निधन भयो। उनी विगत लामो समयदेखि मृगौला सम्बन्धित रोगले ग्रसित थिए। प्रेस क्लब अफ सिक्किमले आफ्नो शोक सन्देशमा भनेको छ, सिक्किमका प्रख्यात वास्तुविद्, 'सिक्किम सरकारका पूर्व सचिव तथा सम्मानित सामाजिक व्यक्तित्व किरण रसाइलीको निधनप्रति प्रेस क्लब अफ् सिक्किम गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछ। स्व. रसाइली सिक्किमको सामाजिक तथा सार्वजनिक क्षेत्रका एकजना सम्मानित व्यक्तित्व हुनुहुन्थ्यो। वास्तुकला क्षेत्रमा उहाँले पुर्‍याउनुभएको उल्लेखनीय योगदानका साथै पत्रकारिता र मिडिया जगतप्रति उहाँको सद्भाव, मार्गदर्शन र निरन्तर सहयोग सदैव स्मरणीय रहनेछ। उहाँले प्रेस क्लब अफ् सिक्किम तथा राज्यको पत्रकार समुदायसँग आत्मीय सम्बन्ध कायम राख्दै सञ्चार क्षेत्रको विकासमा सदैव सकारात्मक साथ, सहयोग र प्रेरणा प्रदान गर्नुभएको थियो।' उनको निधनले सिक्किमले एक अनुभवी, विनम्र र दूरदर्शी व्यक्तित्व गुमाएको बताउँदै प्रेस क्लबले यो क्षति उनको परिवार, आफन्त र शुभेच्छुकहरूका लागि मात्र नभई सम्पूर्ण सिक्किम समाजका लागि अपूरणीय रहेको जनाएको छ। यस दुःखद घडीमा प्रेस क्लब अफ् सिक्किम दिवंगत आत्माप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ। जर्नलिस्ट युनियन अफ सिक्किमले पनि प्रख्यात वास्तुविद्, सिक्किम सरकारका पूर्व सचिव तथा सम्मानित सामाजिक व्यक्तित्व किरण रासाइलीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ। युनियनले आफ्नो शोक सन्देशमा भनेको छ, 'श्री रासाइली अपार ज्ञान, विनम्रता र समाजप्रतिको अटल समर्पणका धनी व्यक्तित्व हुनुहुन्थ्यो। पत्रकारिता क्षेत्रप्रति उहाँले प्रदान गर्नुभएको अमूल्य मार्गदर्शन, प्रेरणा र निरन्तर सहयोगलाई पत्रकार समुदायले सदैव कृतज्ञतापूर्वक स्मरण गर्नेछ। उहाँको सिक्किमभरिका पत्रकारहरूसँग घनिष्ठ सम्बन्ध रहेको थियो र उहाँ सिक्किम पत्रकार संघका एक सच्चा शुभेच्छुक हुनुहुन्थ्यो।' युनियनले उनको निधन परिवार तथा आफन्तजनका लागि मात्र नभई समग्र सिक्किमवासीका लागि पनि अपूरणीय क्षति रहेको बताएको छ। युनियनले यस दुःखद घडीमा शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेको छ।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande