
सिलगढ़ी, ३० जून (हि.स.)। सिलगढ़ीको सेवक रोड स्थित एक प्रतिष्ठित गहना शोरुममा ठूलो लुटपाट गर्ने योजना भक्तिनगर थाना पुलिसले सोमवार राति विफल बनाएको छ। पसल मालिकको सतर्कता तथा पुलिसको तीव्र कारबाहीका कारण बिहारका दुई जना अभियुक्तलाई रंगेहात पक्राउ गरिएको छ। पक्रा परेकाहरूको पहिचान गौतम कुमार र धर्मेन्द्र साहनीका रूपमा भएको छ।
प्राप्त जानकारीअनुसार, सोमवार राति पसल मालिकले सीसीटीभी फुटेज हेर्दा शोरुमभित्र एक शंकास्पद व्यक्ति घुमिरहेको देखेका थिए। त्यसलगत्तै उनले भक्तिनगर थानामा जानकारी गराए। सूचना प्राप्त भएको केही मिनेटमै पुलिस टोली घटनास्थलमा पुग्यो। थाना प्रभारी दीप्तजीत धर स्वयं मोटरसाइकलमा घटनास्थलतर्फ गएका थिए।
पुलिसको गाड़ी देख्नसाथ अभियुक्तहरू झोला बोकेर भाग्न थाले। त्यसपछि पुलिसले दुई टोलीमा विभाजित भएर उनीहरूलाई पछ्यायो। सो क्रममा ज्योतिनगर क्षेत्रबाट गौतम कुमारलाई पक्राउ गरियो भने धर्मेन्द्र साहनीलाई शोरुमभित्रैबाट नियन्त्रणमा लिइयो।
पक्रा परेको एक अभियुक्तदेखि लुटिएका केही गहना समेत जफत गरिएको पुलिसले जानकारी गराएको छ। प्रारम्भिक अनुसन्धानका आधारमा यस घटनामा तीन वा सोभन्दा बढ़ी व्यक्तिको संलग्नता रहेको अनुमान गरिएको छ। तीमध्ये एक अभियुक्त भने पुलिसको नियन्त्रणबाट उम्किन सफल भएको बताइएको छ।
पुलिसको सोधपुछका क्रममा अभियुक्तहरूले अत्यन्त व्यावसायिक ढंगले शोरुमको सटर खोलेर भित्र प्रवेश गरेको खुलासा भएको छ। उनीहरूले शोरुमभित्र जड़ान गरिएका सीसीटीभी क्यामेरा तथा सुरक्षा प्रणाली निष्क्रिय पार्ने प्रयास समेत गरेका थिए। तर पसल मालिकको सतर्कताका कारण उनीहरू ठूलो घटना गर्न सफल हुन सकेनन्।
फरार रहेको तेस्रो अभियुक्तको खोजीका लागि पुलिसले क्षेत्रमा व्यापक खोजी अभियान सञ्चालन गरिरहेको बताइएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी