गाडीधुरा नवदीप परिवारद्वारा गोर्खा शहिद मेजर दूर्गा मल्लको ११३औँ जयन्ती पालन
गोर्खा शहिद मेजर दूर्गा मल्लको ११३औँ जयन्ती


खरसाङ, 01 जुलाई (हि.स.)। खरसाङको गाडीधुरा नवदीप परिवारको तत्वधानमा आज गोर्खा शहिद मेजर दूर्गा मल्लको ११३औँ जयन्ती पालन गरियो। गाडीधुरा बजारस्थित शहिद मेजर दुर्गा मल्लको सालिग परिसरमा आयोजित समारोहको अध्यक्षता संस्थाका सचिव रोशन विश्वकर्माले गरेका थिए।

गाडीधुरा नवदीप परिवारका सदस्य अनुप रामुदामुद्वारा सञ्चालित कार्यक्रममा शहीद मेजर दुर्गा मल्लको सालिगमा धूप-दिप प्रज्वलन गरेर माल्यार्पण गरियो। अतिथि अनुप गदालले आफ्नो सम्बोधनमा भने, गोर्खा जातिको शिर खडा गर्न अमर शहीद मेजर दूर्गा मल्लले जुन कार्य जातिको लागि गरे, अब हामीले पनि जातिको लागि केही गर्नुपर्ने दिन आएको छ। गाडीधुरा नवदीप परिवारले आयोजन गरेको यस कार्यक्रमको पनि प्रशंसा गर्दै उनले उपस्थित सम्पूर्णलाई शुभकामना व्यक्त गरे।

क्लबको पक्षबाट आफ्नो वक्तव्य राख्ने क्रममा रोशन विश्वकर्माले क्लबद्वारा हरेक साल दुर्गा मल्लको जन्मदिन साधारण तरिकाले मनाउँदै आइरहेको तर बलिदान दिवस भने भव्यताको साथ पालन गरिने बताए। विगत सालहरूमा झैं यस साल पनि जयन्ती भव्य रुपमा पालन नगरेको तर बलिदान दिवस भने भव्यताको साथ पालन गरिने र यसको निम्ति सबैको साथ र सहयोगको खाँचो पर्ने बताए।

स्मरण रहोस्, धेरै कठिनाइहरूबीच गाडीधुरा नवदीप परिवारले नै २०२१ मा गाडीधुरा चोकमा यस भव्य पूर्णाङ्क शालिकको अनावरण गरेकाे थियाे। मेजर दूर्गा मल्ललाई फाँसी लगाइएको दिनलाई बलिदान दिवसको रूपमा क्लबले भव्य कार्यक्रम आयोजना गर्दै आएको छ।

---------------

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande