
गान्तोक, 01 जुलाई (हि.स.)। भारतीय जनता पार्टी (भाजपा) सिक्किमले राजधानी गान्तोकबाट कथित आतङ्कवादी संगठनसँग आबद्ध एक व्यक्तिको हालै भएको पक्राउले सिक्किमका लागि गम्भीर चेताउनी दिएको बताएको छ। भाजपा सिक्किमले यस घटनालाई शान्ति, सद्भाव र सौहार्दपूर्ण सहअस्तित्वको आधारमा स्थापित राज्यको पहिचानमाथि गम्भीर चुनौती ठहर गरेको छ।
प्रदेश भाजपा प्रवक्ता साङ्गे ग्याछो भोटियाले आज जारी प्रेस विज्ञप्तिमा भने, 'जाँचबाट अत्यन्त चिन्ताजनक तथ्यहरू सार्वजनिक भएका छन्। अभियुक्त विगत केही वर्षदेखि एक आतङ्कवादी संगठनसँग सक्रिय सम्पर्कमा रहेको, भारतीय सेनाका शिविरहरू तथा सीमावर्ती रणनीतिक सुरक्षा संरचनाहरूको निगरानी गरी संवेदनशील जानकारी पठाउँदै आएको खुलेको छ। अझ चिन्ताको विषय, उक्त व्यक्तिले आर्थिक प्रलोभन देखाई सिक्किमका युवाहरूलाई उग्रवादी विचारधारातर्फ आकर्षित गर्ने प्रयाससमेत गरिरहेको पाइएको छ।'
उनले भाजपा सिक्किमको तर्फबाट यस सफल कारबाहीका लागि सुरक्षा निकायहरू तथा सिक्किम पुलिसप्रति हार्दिक आभार व्यक्त गरेका छन्। उनले सुरक्षा एजेन्सीहरूको तीव्र, प्रभावकारी र समन्वयात्मक हस्तक्षेपले सम्भावित ठूलो दुर्घटनालाई समयमै रोक्न सफल भएको बताएका छन्। उनले राष्ट्रको सुरक्षा तथा सिक्किमका नागरिकहरूको सुरक्षाभन्दा ठूलो प्राथमिकता अरू केही हुन नसक्ने उल्लेख गरेका छन्।
प्रदेश भाजपा प्रवक्ता भोटियाले राज्यस्तरीय निगरानी सुदृढीकरण, भाडावालाको अनिवार्य प्रमाणीकरण र नागरिक सतर्कतामाथि जोड दिएका छन्। उनले सिक्किमको शान्ति, सुरक्षा र सामाजिक सद्भावको संरक्षण हाम्रो साझा दायित्व हो भन्दै सबै मिलेर आफ्नो मातृभूमिको रक्षा गरौं भनी आह्वान गरेका छन्।
उल्लेखनीय छ, राजधानी गान्तोकबाट एक संदिग्ध युवकलाई पक्राउ गरिएको छ, जसको सम्बन्ध देश विरोधी तत्वहरूसँग हुन सक्ने आशंका गरिएको छ। यस घटनाको सम्बन्धमा जाँच जारी रहेको छ।
हिन्दुस्थान समाचार / बिशाल