
कोलकाता, 15 जुलाई (हि.स.)। उत्तर बङ्गाल र दक्षिण बङ्गालका अधिकांश जिल्लाहरूमा मनसुन एकपटक फेरि सक्रिय भएको छ। अलिपुरस्थित क्षेत्रीय मौसम विज्ञान केन्द्रद्वारा बुधवार जारी विशेष बुलेटिन अनुसार उत्तर मध्य बङ्गालको खाड़ी तथा यस संलग्न बङ्गलादेश तटमा एक चक्रवाती परिसञ्चरण सक्रिय भएको छ जुन आगामी 24 घण्टाभित्रमा निम्न दबाव क्षेत्रमा परिणत हुने सम्भावना प्रबल छ। यसको प्रभावले राज्यमा आगामी चार दिनसम्म व्यापक वर्षा तथा तीव्र हुरी-बतास आउने अनुमान लगाइएको छ।
मौसम विभाग अनुसार दक्षिण बङ्गालका सबै जिल्लाहरूमा अधिकांश स्थानहरूमा हल्कादेखि मध्यम वर्षा अथवा मेघ गर्जनसितै मुसलधारे पानी पर्नसक्छ। विशेष रूपमा उत्तर एवं दक्षिण 24 परगना, पूर्व एवं पश्चिम मेदिनीपुर तथा झाड़ग्राम जिल्लाका एक-दुई वटा स्थानहरूमा भारी वर्षा (7-देखि 11 सेन्टीमीटर) हुने चेतावनी जारी गरिएको छ। यी जिल्लाहरूमा 40-50 किलोमीटर प्रतिघण्टाको गतिले तीव्र हावा चल्ने तथा वज्रपात हुने आशङ्का पनि व्यक्त गरिएको छ। कोलकाता सहित दक्षिण बङ्गालका अन्य जिल्लाहरूमा पनि 30-40 किलोमीटर प्रतिघण्टाको गतिले हावा चल्नसक्छ।
उत्तर बङ्गालका पर्वतीय क्षेत्रहरूमा पनि मनसुनको प्रभाव बढ़ेको छ। मौसम कार्यालयले दार्जीलिङ तथा जलपाईगुड़ी जिल्लामा भारी वर्षा हुने चेताउनी जारी गरेको छ। यस अतिरिक्त कालेबुङ, अलिपुरद्वार तथा कुचबिहार समेत उप-हिमालयी क्षेत्रहरूमा पनि अति भारी वर्षा हुने सम्भावना छ। लगातार वर्षाको कारण टिस्टा, तोर्सा तथा जलढाका सहित प्रमुख नदीहरूको जलस्तरमा वृद्धि हुने आशङ्का व्यक्त गरिएको छ।
निम्न दबाव क्षेत्रको प्रभावले बङ्गालको खाड़ीको उत्तरी भाग औ पश्चिम बङ्गालका तटीय क्षेत्रहरूमा समुद्रको स्थिति अत्यन्त अशान्त रहने सम्भावना छ। तटीय क्षेत्रहरूमा 35-45 किलोमीटर प्रतिघण्टाको गतिले तीव्र हावा चल्नसक्छ। मौसम विभागले सुरक्षाको दृष्टिले 15 जुलाईदेखि 18 जुलाईसम्म मछुआराहरूलाई समुद्रमा नजाने सल्लाह दिएको छ।
कोलकाता अनि यस वरपरका क्षेत्रहरूमा बुधवार आंशिक रूपमा घना बादल छाउने तथा बीच-बीचा वर्षा अथवा मेघ गर्जनसितै झमझम पानी पर्ने सम्भावना छ। शहरको अधिकतम तापमान 31 डिग्री सेल्सियस तथा न्यूनतम तापमान 27 डिग्री सेल्सियस लगभग रहने अनुमान छ। उच्च आद्रताको कारणले वर्षापूर्व मानिसहरूलाई आद्रताको सामना गर्नुपर्नेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा