
पश्चिम बर्दवान, 15 जुलाई (हि.स.)। जिल्लास्थित दुर्गापुर प्रोजेक्ट्स लिमिटेड (डीपीएल) को 7 नम्बर कुलिङ्ग टावरमा बुधवार भएको एक भयानक दुर्घटनामा दुई जना ठेकाका श्रमिकहरूको मृत्यु भयो भने एकजना श्रमिकलाई खोजिरहेको जानकारी प्राप्त भएको छ। घटनापछि सम्पूर्ण डीपीएल परिसर तथा श्रमिकहरूमा शोक सहित भय पनि व्याप्त भएको छ।
जानकारी अनुसार कुलिङ्ग टावरमा रेलिङ्ग काट्ने काम भइरहेको थियो। यसै अवधि श्रमिकहरूको सेफ्टी बेल्ट अचानक भाँचियो जसले गर्दा उनीहरू धेरै माथिबाट झरे। यस दुर्घटनामा अण्डाल निवासी उमेश साहू (54) र डीएसपी टाउनशिप बी-जोन निवासी पिन्टू कुमार घोष (49)-को घटनास्थलमै मृत्यु भयो।
घटनाको सूचना पाएर कोक ओभन थाना पुलिसले घटनास्थलमा पुगेर जाँच गर्न शुरू गऱ्यो। पुलिसले प्रत्यक्षदर्शीहरूसित जाँचबुझ गरिरहेको छ साथै दुर्घटनाको कारण पत्तो लगाउन पनि जाँच गरिरहेको छ।
डीपीएलकी जनसम्पर्क अधिकारी स्वागता मित्राले बताइन्, यो दुर्घटना 7 नम्बर कुलिङ्ग टावरमा भएको हो। मित्रा अनुसार सबै श्रमिकहरूले निर्धारित सुरक्षा मानदण्डहरूलाई पालन गरेर नै काम गरिरहेका थिए। तथापि दुर्घटना कसरी भयो, यसको विस्तृत जाँच गराइँदैछ।
यता भारतीय मजदूर सङ्घ (बीएमएस)- का जिल्ला सचिव मृण्मय ब्यानर्जीले डीपीएल प्रबन्धनमाथि गम्भीर आरोप लगाए। उनको भनाइ छ, श्रमिकहरूलाई निम्न स्तरको सेफ्टी बेल्ट उपबल्ध गराइएको थियो जसकारण बेल्ट भाँचिएर श्रमिकहरू तल झरे। उनले यो पनि आरोप लगाए, प्लान्टको मेडिकल सेन्टरमा त्यसबेला कुनै पनि चिकित्सक उपस्थित थिएन। पछि डीपीएल अस्पतालबाट डाक्टर बोलाएर मृतकको जाँच गराइयो।
बीएमएसले मृतक श्रमिकहरूको परिवारलाई 15 लाख रुपियाँ क्षतिपूर्ति, अन्तिम संस्कारको लागि 60 हजार रुपियाँ आर्थिक सहयोग तथा परिवारका एकजना सदस्यलाई नोकरी दिने माग गरेको छ।
हाल पुलिस औ डीपीएल प्रबन्धन सम्पूर्ण मामिलाको जाँचमा जुटेको छ। यस घटनाले एकपटक फेरि औद्योगिक क्षेत्रहरूमा श्रमिकहरूको सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा