
गान्तोक, 16 जुलाई (हि.स.)। सिक्किम फुटबल एसोसिएशन (एसएफए) को तत्वावधानमा बिहिवारदेखि राजधानीको पाल्जोर स्टेडियममा एसएफए ए डिभिजन एस-लिग शुरू भएको छ। प्रतियोगिताको पहिलो खेल सिक्किम पुलिस फुटबल टीम र सिक्किम बोइज फुटबल क्लबबीच सम्पन्न भयो, जसमा सिक्किम पुलिस बिजय बन्यो।
एसएफए ए डिभिजन एस-लिगको पहिलो दिनको खेलमा सिक्किम पुलिस फुटबल टीमले प्रतिद्वन्दी दल सिक्किम बोइज फुटबल क्लबलाई 4-3 ले पराजित गऱ्यो। सिक्किम पुलिसको तर्फबाट मिलन छेत्री, मिङ्गमा छिरिङ लेप्चा, साङ्गे छोपेल भोटिया र अजय तामाङले एक-एक गोल गरे। यसैगरी, सिक्किम बोइजको तर्फबाट प्रयास गुरुङले एक तथा नवाङ भोटियाले दुई गोल गरे।
उद्घाटन खेलमा सिक्किम ओलम्पिक एसोसिएशनका अध्यक्ष छेवाङ जाङ्गपो भोटिया मुख्य अतिथि तथा सिक्किम चेस एसोसिएशनका महासचिव महेन्द्र ढकाल विशिष्ट अतिथि थिए।
हिन्दुस्थान समाचार / बिशाल