
जलपाईगुड़ी, 17 जुलाई (हि.स.)। पश्चिम बङ्गालको जलपाईगुड़ी जिल्लास्थित बानरहाट थाना अन्तर्गत पश्चिम दुरामारी क्षेत्रमा मात्र तीन दिनभित्रमा एउटै परिवारका तीन जना सदस्यहरूको मृत्यु भएको घटनाले क्षेत्रमा सन्त्राष फैलिएको छ।
पुलिस औ स्थानीय सूत्र अनुसार पश्चिम दुरामारी निवासी बिमल रायलाई पछिल्लो लामो समयदेखिकै आफ्नी पत्नी चुमकी राय (36) र आफ्नै भाइ सनातन रायबीच अवैध सम्बन्ध रहेको शङ्का लागेको थियो। यसै विषयलाई लिएर परिवारमा प्रायजसो झगड़ा भइरहन्थ्यो।
बताइन्छ, घटना घटेको दिन चुमकी घरबाट हिँड़ेपछि बिमल पनि उसको पछाड़ि-पछाड़ि गए। त्यसपछि दुवै बेपत्ता भए। केही समयपछि बिमलले आफ्नो छोरालाई मोबाइलमा एउटा भोइस म्यासेज पठाएर उसले आफ्नी पत्नीको हत्या गरेपछि आफूले चाहिँ आत्महत्या गरिरहेको बताए।
सूचना पाउनसाथ घटनाको जाँचमा जुटेको पुलिसले मोराघाट जङ्गलको मधुबनी पुल छेउमा बुधवार चुमकीको क्षत-विक्षत शव भेट्यो। त्यसपछि फेरि दोस्रो दिन सोही जङ्गलबाट बिमलको गलफन्दामा झुण्डिरहेको शव भेटियो।
यो घटना भएको 24 घण्टाभित्रमा शुक्रवार फेरि अर्को अचम्भको घटना देख्न पाइयो जतिबेला पश्चिम दुरामारीको रङ्गाती महाश्मशान क्षेत्रमा एउटा रूखमा बिमलको भाइ सनातन रायको शव झुण्डिरहेको अवस्थामा भेटियो।
स्थानीय मानिसहरूको अनुमानमा दाज्यु-भाउज्युको मृत्युले सनातन मानसिक रूपमा हारिसकेका थिए, त्यसैले उसले पनि आत्महत्या गऱ्यो। तथापि पुलिसलको भनाइ छ, मृत्युको वास्तविक कारण जाँचपछि नै पत्तो लाग्नेछन्।
बनरहाट थाना पुलिसले तीनै मामिलामा अस्वभाविक मृत्युको मामिला दर्ता गरी जाँच सुरू गरेको छ। साथै यो पनि जाँच गरिरहेको छ कि यी घटनाहरूको पछाड़ि कुनै अन्य कारण वा आपराधिक षड़यन्त्र त लुगेको छैन। जाँच पूरा नहुञ्जेलसम्म पुलिसले कुनै पनि सम्भावनालाई अस्वीकार गरिरहेको छैन।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा