लिन्दोकका न्यौपाने परिवारप्रति नेपाली साहित्य परिषद् सिक्किमद्वारा समवेदना प्रकट
लिन्दोकका न्यौपाने परिवारप्रति नेपाली साहित्य परिषद् सिक्किमद्वारा समवेदना प्रकट


गान्तोक, 17 जुलाई (हि.स.)। नेपाली साहित्य परिषद् सिक्किमको कार्यकारी समितिको एक प्रतिनिधिमण्डलले आज पूर्व सिक्किमको लिन्दोक पुगेर गत ४ जूनको दिन राष्ट्रिय राजमार्ग १० को विनाशकारी पैह्रोमा एकै परिवारका चार सदस्य गुमाएका शोकसन्तप्त परिवारसँग भेट गरी समवेदना प्रकट गरेको छ।

परिषद्का अध्यक्ष हरि ढुङ्गेलको नेतृत्वमा उपाध्यक्ष निलम न्यौपाने, महासचिव भीम रावत तथा प्रचार सचिव हेमराज अधिकारी परिवारको निवासमा पुगेर दिवङ्गत स्मारिका न्यौपाने, शैव्य न्यौपाने, माया दाहाल तथा दित्या छेत्रीप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्नुका साथै शोकसन्तप्त परिवारलाई समवेदनापत्र हस्तान्तरण गरेका थिए।

सो अवसरमा परिषद्का पदाधिकारीहरूले एकै परिवारका चार सदस्यलाई एकै क्षणमा गुमाउनु केवल एउटा परिवारको मात्र नभई सम्पूर्ण समाजको साझा पीडा भएको उल्लेख गर्दै यस अकल्पनीय वियोग सहन परिवारलाई धैर्य, साहस र आत्मबल प्राप्त होस् भन्ने कामना व्यक्त गरे। दुःखको यस कठिन घडीमा नेपाली साहित्य परिषद् सिक्किम शोकाकुल परिवारसँग पूर्ण रूपमा साथमा रहेको प्रतिबद्धता पनि जनाइएको थियो।

परिषद्ले जारी गरेको समवेदनापत्रमार्फत दिवङ्गत चारै आत्माप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गरेको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande