
पाकिम, 18 जुलाई (हि.स.)। मतदाता नामावलीको विशेष गहन पुनरीक्षण (एसआईआर) अन्तर्गत आज छुजाचेन विधानसभा क्षेत्रमा निर्वाचन दर्ता अधिकारी (ईआरओ) ले ३२ वटा सुनुवाई सम्पन्न गरेका छन्। सुनुवाईको उद्देश्य मतदाताको योग्यताको प्रमाणीकरण गर्नुका साथै थप छानबिन आवश्यक परेका दाबीहरूको परीक्षण गर्नु रहेको बताइएको छ।
पाकिम जिल्लामा सञ्चालन भइरहेको सुनुवाई प्रक्रिया आज तेस्रो दिनमा प्रवेश गरेको छ। यसको उद्देश्य पूर्ण, शुद्ध तथा त्रुटिरहित मतदाता नामावली तयार गर्नु हो।
जिल्ला निर्वाचन अधिकारी तथा जिल्लापाल परी बिश्नोईले जिल्लामा सञ्चालन भइरहेको एसआईआर प्रक्रियाको प्रत्यक्ष अनुगमन गर्दै सुनुवाई कार्य सुचारु रूपमा सम्पन्न गराउने तथा दाबी, आपत्ति र पुनरीक्षणसँग सम्बन्धित अन्य विषयहरूको निरीक्षण गरिरहेकी छन्।
सुनुवाई सम्बन्धित निर्वाचन दर्ता अधिकारी, सहायक निर्वाचन दर्ता अधिकारी तथा अतिरिक्त सहायक निर्वाचन दर्ता अधिकारीद्वारा सञ्चालन भइरहेको छ। सुनुवाईइमा सहभागी हुने मतदाताहरूले आवश्यक परेमा स्वप्रमाणित दस्तावेजहरू, जस्तै जन्मदर्ता प्रमाणपत्र, पासपोर्ट, शैक्षिक प्रमाणपत्र, स्थायी बसोबास प्रमाणपत्र, सरकारी परिचयपत्र, जग्गा वा घर आवण्टन प्रमाणपत्र, जातीय प्रमाणपत्र, पेन्सनसम्बन्धी दस्तावेज वा एसआईआर निर्देशिकामा उल्लेख गरिएका अन्य प्रमाणहरू पेश गर्नुपर्ने बताइएको छ।
'अनम्याप्ड' तथा 'लोजिकल डिस्क्रेपेन्सी' श्रेणीअन्तर्गत परेका मतदाताहरूको सुनुवाई निर्धारित कार्यतालिकाअनुसार निरन्तर सञ्चालन हुनेछ। जिल्ला निर्वाचन कार्यालयले सुनुवाईको सूचना प्राप्त गरेका सबै मतदातालाई तोकिएको मिति, समय र आवश्यक कागजातसहित अनिवार्य रूपमा उपस्थित हुन आग्रह गरेको छ।
हिन्दुस्थान समाचार / बिशाल