
पाकिम, 18 जुलाई (हि.स.)। ग्रामीण विकास विभागका सचिव अनिल राज राईले सम्बन्धित विभागीय अधिकारीहरूको उपस्थितिमा आज रङ्गेली महकुमा अन्तर्गतका सडक पूर्वाधार तथा विकास कार्यहरूको उच्चस्तरीय स्थलगत निरीक्षण गरे।
निरीक्षणको शुरुआत पदमचेन जीपीयूस्थित प्लास्टिक फोहोर व्यवस्थापन केन्द्रबाट गरिएको थियो। टोलीले केन्द्रको कार्यसम्पादनको समीक्षा गर्दै पर्यावरणीय दिगोपन र क्षेत्रीय सरसफाई प्रवर्द्धनका लागि प्रभावकारी प्लास्टिक फोहोर व्यवस्थापनको महत्त्वमा जोड दियो।
त्यसपछि टोलीले बिरिङ तारेथाङस्थित प्रधानमन्त्री ग्राम सडक योजना अन्तर्गत सडक निरीक्षण गर्दै गुणस्तर र मर्मत कार्यको प्रगतिको समीक्षा गर्यो। अधिकारीहरूले सम्बन्धित कर्मचारीसँग छलफल गर्दै स्थानीय बासिन्दाको हितका लागि दिगो र गुणस्तरीय सडक पूर्वाधार सुनिश्चित गर्नुपर्ने आवश्यकता औँल्याए।
यसपछि, निरीक्षण टोलीले निमाचेन-प्रेमलाखा सडक तथा रिनाक फाटक-रिनाक सिमाना सडकको पनि निरीक्षण गरी मनसुनका कारण सडकहरूको वर्तमान अवस्थाको मूल्याङ्कन गर्यो।
स्थलगत निरीक्षणका क्रममा वरिष्ठ अधिकारीहरूले केही सडक खण्डको अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै कार्यान्वयन निकायलाई सबै मर्मतसम्भारका काम प्राथमिकताका साथ प्रभावकारी रूपमा सम्पन्न गर्न निर्देशन दिए। साथै, वर्षायाममा सर्वसाधारणलाई आवतजावतमा कुनै असुविधा नहोस् भन्ने उद्देश्यले सडकलाई सुरक्षित र सवारी सञ्चालनयोग्य अवस्थामा राख्न सबै सम्भावित उपाय अपनाउन सम्बन्धित निकायलाई निर्देशन दिइयो।
निरीक्षणका क्रममा सम्बन्धित ठेकेदारले तोकिएको मापदण्डअनुसार सडक मर्मतसम्भारको कार्य सन्तोषजनक रूपमा सम्पन्न नगरेको पाइएपछि उच्च अधिकारीहरूले यसलाई गम्भीर रूपमा लिँदै रङ्गेली महकुमालाई ठेकेदारविरुद्ध आवश्यक कारबाही प्रक्रिया अघि बढाउन निर्देशन दिइएको छ।
सडक मर्मतसम्भारमा देखिएको कमजोरीलाई मध्यनजर गर्दै उच्च अधिकारीहरूले रङ्गेली महकुमालाई ठेकेदार विरुद्ध अन्तिम सूचना जारी गरी तत्काल आवश्यक मर्मत कार्य शुरु गर्न निर्देशन दिन लगाइएको छ। यदि ठेकेदारले सन्तोषजनक रूपमा काम नगरेमा उच्च अधिकारीहरूको निर्देशन तथा लागू प्रावधानअनुसार मर्मतसम्भार सम्झौता रद्द गर्ने प्रक्रिया अघि बढाइने विभागले जनाएको छ।
---------------
हिन्दुस्थान समाचार / बिशाल