
मेदिनीपुर, 18 मई (हि.स.)। पूर्व मेदिनीपुर जिल्लाको तमलुकस्थित जिल्ला विद्यालय निरीक्षक (डीआई) कार्यालयमा अविरल वर्षा तथा जल निकासीको उचित व्यवस्थाको अभावमा पछिल्लो 15 दिनदेखिको जलभराउको स्थिति उत्पन्न भएको छ। कार्यालय परिसर तथा कोठाहरूमा पानी भरिएकोले कर्मचारीहरूलाई अत्यन्त कठिन परिस्थितिमा काम गर्न परिरहेको छ।
प्राप्त जानकारी अनुसार कार्यालयको रेकर्ड कक्षमा राखिएका अनेकौं महत्वपूर्ण सरकारी दस्तावेज, पुरानो अभिलेख तथा विद्यालय सम्बन्धी आवश्यक फाइलहरू पानीले भिजेर नष्ट हुने स्थितिमा पुगेको छ। कार्यालयभित्र कतिपय स्थानहरूमा घुँड़ा-घुँड़ासम्म पानी जमिएको छ। कर्मचारीहरूले आफ्नो कुर्सीलाई ईँटा लगाएर अग्लो बनाएर कठिनाईपूर्वक दैनिक कार्यहरू सञ्चालन गरिरहेका छन्।
कार्यालयमा आउने अधिकांश शिक्षक-शिक्षिकाहरूले असन्तुष्टि व्यक्त गर्दै भने, टाड़ा-टाड़ाका सुदूरवर्ती क्षेत्रहरूबाट आउनुपर्छ, तर यहाँ आएपछि आवश्यक कार्य नै गर्न सकिरहेका छैनन्। कर्मचारीहरूको भनाइ छ, पछिल्लो दुई सातादेखिको उनीहरूले ठूलो कष्ट झेल्दै आइरहेका छन्। यस्तो समस्या पहिलो पटक भएको पनि होइन। यसअघि पनि कैयौं पटक यस्तो स्थिति उत्पन्न भइसकेको छ।
कर्मचारीहरू अनुसार नालीहरूको नियमित सफाई नभएको कारणले कृत्रिम बाढ़ जस्तो स्थिति उत्पन्न भएको छ। यस सम्बन्धमा उच्च अधिकारीहरूलाई अवगत गराइएको भए पनि अहिलेसम्म कुनै स्थायी समाधान हुन सकेको छैन। तथापि जिल्ला विद्यालय निरीक्षकले यस मामिलामा कुनै टिप्पणी गर्नदेखि अस्वीकार गरेका छन्।
स्थानीय मानिसहरू अनि कर्मचारीहरूले प्रशासनसित शीघ्र जलनिकासीको व्यवस्था गरी कार्यालयलाई सामान्य स्थितिमा ल्याउने तथा महत्वपूर्ण सरकारी दस्तावेजहरूलाई सुरक्षित राख्ने माग गरेका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा